बुटवल - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब राष्ट्रिय राजनीतिको नेतृत्व कांग्रेसले गर्ने दाबी गरेका छन्। कम्युनिष्टहरू र अहिलेको सरकारले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न नसकेको उनको आरोप छ।
‘अब राष्ट्रिय राजनीतिको नेृतत्वका साथै आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले नै गर्छ,’ उनले भने। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको शालिक अनावरणका लागि आइतबार बुटवलमा कांग्रेस नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसले मात्रै देशलाई निकास दिन सक्ने ठोकुवा गरे।
दुई तिहाई बहुमतको सरकार असफल भएको दाबी गर्दै सरकार संविधान र लोकतन्त्रको मर्मअनुसार चल्न नसकेको आरोप लगाए। उनले प्रजातान्त्रिक मूल्य मान्यता र बीपीले देखाएको बाटोबाट कांग्रेसलाई अगाडि बढाउनुको विकल्प नभएको बताउँदै गुट उपगुटको राजनीतिबाट पार्टीलाई मुक्त गराउनुपर्नेमा जोड दिए।
एबीसी कांग्रेसले अब कांगे्रस नचल्ने बताउँदै कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा लैजाने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।
स्व. गणेशमानले नेपालको राजनीतिमा पुर्याएको बलिदान र त्यागलाई अहिलेको नयाँ पिँढीले बुझ्न आवश्यक रहेको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसका नेताहरूको बलिदानका कारण लोकतन्त्र बहाली भएको र संविधान बनेको बताए।
उनले कांग्रेस लोकतन्त्रमाथि विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट शासन व्यवस्था चल्न नसक्ने दाबी गरे। सरकारले संविधान मिचेर मिडिया काउन्सिल, गुठीलगायतका विभिन्न विधेयक ल्याएको आरोप लगाउँदै सरकारले जनताको जिउधनको सुरक्षा गर्न नसकेको र विकास पनि गर्न नसकेको आरोप लगाए।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्णसवुज बानियाँ, रुपन्देही सभापति अब्दुल रज्जाक, नेपाली कांग्रेस महासमितिका सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरि लम्साल, नेपाली कांग्रेस वडा नम्बर २ की सभापति दधना लामा, प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, महेशमान सिंह, विमलराज भट्टराईलगायतले गुट उपगुटले गर्दा कांग्रेस कमजोर भएको बताउँदै गुटको राजनीतिबाट माथि उठेर कांग्रेसलाई बलियो बनाउन आग्रह गरे।