काठमाडौँ, ३ माघ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको म्याद थपिएको विरोधमा संघकै नेताकार्यकर्ताहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन्। देउवा निवास बूढानीलकण्ठ पुगेर दर्जनौँ नेताकार्यकर्ताले मोटरसाइकल र्यालीसहित धर्ना दिएका हुन् ।
नेताकार्यकर्ताले नेविसंघको झण्डा बोकेर ‘नेविसंघ जिन्दावाद’को नारा लगाएका थिए। उनीहरू माइक्रोबससमेत रिजर्भ गरेर बूढानीलकण्ठ पुगेका थिए। धर्नाका लागि दर्जनौँ संख्यामा नेविसंघ कार्यकर्ता भेला भएपछि देउवा निवास वरपर सुरक्षा तैनाथी बढाइएको छ।
विधानअनुसार बुधबार राति १२ बजेसम्म मात्र नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ। पटकपटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिइएकाे भन्दै नेविसंघका केही नेता–कार्यकर्ता विरोधमा छन्।
नेविसंघका उपाध्यक्षत्रय सञ्जयकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरू प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।
यसअघि पटक–पटक म्याद थप हुँदा पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ। नेविसंघको अधिवेशन ७७ जिल्लामध्ये १४ जिल्लामा सम्पन्न भइसकेको छ ।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समयावधि थपिदिएको थियो। थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिना म्याद थपिएको थियो। महाधिवेशन गर्ने शर्तमा पछिल्लोपटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए तर पुस २८ गते पनि महाधिवेशन शुरु हुन सकेन।