काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने बताएका छन् ।
आाइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएको बताएका हुन।
उनले भने, ‘यही कुरा शीर्ष नेताहरूबीच सहमति भएको हो। कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’
साक्षात्कारमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीको विधानमै स्पष्ट रूपमा पार्टी नीतिबारे लेखिएको छ। हाम्रो पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो। घोषित नीति भनेको जनताको जनवाद हो। सबै नेता विधानअनुसार चल्नुपर्छ ।’
सहमतिको विपरितको गईयो भने राजनीतिक अस्थिरता निम्तिने खतरा रहेको पनि रावलको टिप्पणी छ ।उनले पार्टी एकताको सन्दर्भमा गरिएका सबैखाले प्रतिबद्धताहरू पूरा गर्नुपर्ने धारणा राखे। नेकपाको आन्तरिक विधानमा अभिलिखित नीतिलाई सबैले पालना गर्नुपर्ने उनको जोड छ । उनले थपे, ‘पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ । यसबाट कोही पनि विचलित हुनुहुँदैन् ।’
कसैलाई पार्टीको नीति मन नपरे केन्द्रिय कमिटिमा राख्नुपर्ने पनि उनले सुझाए ।