काठमाडौँ– समाजवादी पार्टी नेपाल सञ्चार सहयोगी तथा युवा नेता विश्वदीप पाण्डेले तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ एवम् अभिनेत्री करिश्मा मानन्धरले केन्द्रीय पद नपाएर पार्टी छोडेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेबुकमा स्टाटस लेख्दै पाण्डेले करिश्माले पार्टी छोडेको बताएका हुन्।
करिश्माले विचार र पद्धतिमा असहमति नभई पार्टीमा पदाधिकारीको जिम्मेवारी नपाएकोले पार्टी छाडेको पाण्डेको भनाइ छ। पाण्डेले लेखेका छन्, ‘उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करिश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन ।’
करिश्माले एक यूट्यूब च्यानलसँग कुरा गर्दै आफूले पार्टी छाडेको र डा.बाबुराम भट्टराईको फोन पनि नउठाउने बताएकी थिइन्। उनले आफूलाई चुनावमा प्रचार गर्नका लागि मात्र प्रयोग गर्न खोजेको र भट्टराईमा राजनीतिक ‘म्यानेजमेण्ट’ क्षमता नभएको भन्दै पार्टी छाडेको बताएकी थिइन्।
त्यसको जवाफ पाण्डेले फर्काउका छन् । ‘एक जना करिश्मालाई संरक्षण गर्न खोज्दा डा.बाबुराम भट्टराईलाई हिजो सुख दुःखमा साथ दिएका धेरै करिश्माहरू गुमाउनुपरेको छ’ पाण्डेले लेखे।
करिश्मालाई गहनाको रूपमा मात्र नलिएर पार्टीले समानुपातिकतर्फ १ नम्बरमा राखेको स्मरण गराउँदै उनले लेखेका छन्, ‘सायद उहाँले तपाईंलाई संरक्षण नगरेर अरुलाई बोक्नुपर्थ्यो कि ? तपाईंको संरक्षण नगरेको भए चाहिँ सायद तपाईंले भनेजस्तो व्यवस्थापन कला उहाँमा पूर्ण हुने थियो कि ?’
करिश्माको नाम पार्टीले समानुपातिक सूचीमा १ नम्बरमा राखेको भन्दै पाण्डेले चुनावसम्म उनी सक्रिय नै भएको र चुनावपछि पार्टीको ‘थ्रेसहोल्ड’ नकटेकोले उनी बिस्तारै निष्क्रिय हुन थालेको बताए।
विश्वदीपले फेसबूकमा लेखेको स्टेटस
आजभोलि कतिपय टिप्पणीहरू व्यक्तिगत तहसम्म हुने देखेर अलिकति असहज लागेको छ । पञ्चायतकालीन विचार बोकेर आफूलाई वैकल्पिक राजनीति गर्छु भन्नेहरूदेखि कुनै निश्चित पद नपाएर घर छोड्नेहरू पनि कसरी हुन्छ डा. बाबुरामलाई कमजोर बनाउन र आरोपित गर्न कम्मर कसेर लागिरहेकै छन् ।
डा.भट्टराईले हिजोको दिनबाट राजनीति सुरु गर्नुभएको होइन । त्यसैले विदेशको जागिरमा पेन्सन पाकेपछि नेपाल फर्किएर मिडियाबाजी र एनजिओ शैलीको राजनीति गर्नेहरूले डा.भट्टराईको छवी अलिअलि धमिल्याउन खोज्दैमा दशकौं लामो राजनीतिक प्रतिवद्धता, इमान्दारिता र शोषित पीडित र पछि पारिएका समुदायको आत्मसम्मान अनि नेपालको दीगो आर्थिक उन्नतिमा डा. भट्टराईको प्रतिवद्धतामा कहिले कमी आउने छैन ।
भर्खरै करिश्मा मानन्धरजीले डा. भट्टराईको बारेमा गरेको टिप्पणीबारे केही भन्न मन लाग्यो । सत्य नबोले धेरैलाई भ्रम हुन सक्छ । त्यसैले जे भएको हो त्यही सत्य बोल्नै पर्ने भयो ।
सर्वप्रथम करिश्मा मानन्धरजीलाई एसईई परिक्षामा उत्तिर्ण हुनुभएकोमा हार्दिक बधाई । डा. भट्टराईले प्रत्येक भेटमा तपाईंलाई प्रोत्साहान गर्दै आउनुभएको छ । र, उहाँ पनि पनि तपाईंको मेहेनत र सफलतामा खुसी हुनुहुन्छ ।
जहाँसम्म नेपाली चलचित्र क्षेत्र र नेपाली कलाकारको कुरा छ, यदि नेपालमा नेपाली चलचित्र र नेपाली कलाकारलाई प्रोत्साहन गर्ने, संरक्षण गर्ने, माया गर्ने कोही नेता छ भने पहिलो नम्बरमा डा। बाबुराम भट्टराई नै हो । सायद यो कुरा धेरै कलाकारहरुले स्वीकार्नुहुन्छ होला ।
हिजो नयाँ शक्ति पार्टीमा करिश्माजीलाई जति प्रोत्साहन अरू पार्टीमा लाग्ने कलाकारलाई कुनै पार्टीले पनि गरेको छैन । छ भने भनिदिनुहोला करिश्माजी । हिजो तपाईंले पाटीभित्र जति मेहनत गर्नुभयो त्यो भन्दा धेरै नै पार्टीले तपाईंलाई माया गरेको थियो ।
तपाईंलाई याद नै छ होला चुनावमा तपाईंको नाम पार्टीले समानुपातिकतर्फ १ नम्बरमा राखेको थियो । कि यो कुरा बिर्सनुभयोरु त्यसो भनिरहँदा तपाईंको समय र परिश्रमलाई पनि हामीले सम्झिरहेका छौं र त्यसको लागि धन्यवाद पनि छ ।
तपाईंमाथि अपमान भएको वा तपाईंले भनेजस्तो कलाकारलाई गहनाको रूपमा मात्रै पार्टीले, डा.भट्टराईले लिएको भए १ नम्बरमा तपाईंको नाम कसरी पथ्र्यो ? डा. भट्टराईले एक जना करिश्मा मानन्धरलाई संरक्षण गर्न खोज्दा बाबुरामलाई हिजो सुख दुःखमा साथ दिएका बलावती शर्मा, लिला भण्डारी, कल्पना धमला लगायत धेरै करिश्माहरू गुमाउनुपरेको छ । सायद उहाँले तपाईंलाई संरक्षण नगरेर अरूलाई बोक्नुर्पथ्यो कि ? तपाईंको संरक्षण नगरेको भए चाहिँ सायद तपाईंले भनेजस्तो व्यवस्थापन कला उहाँमा पूर्ण हुने थियो कि ?
सबैलाई जानकारी नै छ, चुनावसम्म उहाँ सक्रिय नै हुनुहुन्थ्यो । चुनावपछि जब पार्टीको थ्रेसहोल्ड कटेन उहाँ बिस्तारै निष्क्रिय हुन थाल्नुभयो । सायद उहाँलाई लाग्यो होला थ्रेसहोल्ड पनि कटेन, दुख गर्नु बेकार छ ।
त्यसैले उहाँ ज्यादा पढाइमै फोकस भएको भन्दै सबै बैठक, भेटघाटलाई वेवास्ता गर्न थाल्नुभयो । पछि डा. भट्टराईले आफै फोन गरेर समाजवादी पार्टी घोषणा समारोहमा सहभागिताका लागि बोलाउनुभएको हो । डा.भट्टराईले व्यक्तिगत रुपमै फोन गरेर कार्यक्रममा बोलाउनुभएको सायद करिश्माजीलाई मात्रै होला ।
सभापछि उहाँले असन्तुष्टि जनाउनुभयो कि २५ जना पदाधिकारी मञ्चमा हुँदा म पनि हुनुर्पथ्यो भन्दै मेरो अपमान भयो भन्नुभयो उहाँले । पछि मैले भेटौं, कुरा गरौं भनेर साँग्रिला होटलमा बोलाएर करिब ४५ मिनेट कुरा भयो हाम्रो । राजनीतिमा तलमाथि हुन्छ, यस्तो कुरामा असन्तुष्टि जनाउनु हुँदैन, राजनीति सहजभन्दा ज्यादा जटील यात्रा हो, धैर्यता चाहिन्छ भनेर सम्झाएको थिएँ मैले ।
बीचमा एक बर्ष तपाईं निष्क्रिय पनि हुनुभयो, अहिले पदाधिकारीपछिको ठूलो अंग राजनीतिक समिति हुन्छ, राजनीतिक निर्णय त्यही समितिले गर्छ, त्यसैले अहिले राजनीतिक समितिमा बसेर सँगै मिलेर काम गरौं, तपाईंलाई अगाडिको राजनीतिक यात्रामा सहयोग गर्न डा। भट्टराई लगायत हामी सबै छौं भनेको थिएँ ।
पछि १० मिनेट डा.भट्टराई सहित पनि हामी बस्यौं । अनि हाँसीखुसी त्यहाँबाट बिदा भयौं । पछि उहाँ घर पुगेर मलाई अर्कै पार्टीको फलानोले फोन गरेर यसो यसो भन्यो मैले किन भेट्ने उसलाई पनि भन्नुभयो ।
राजनीतिमा कर्टेसी मेन्टेन गर्दा केही फरक पर्दैन, भेट्दा हुन्छ भनें मैले । उहाँले हैन विचार नै मिल्दैन किन भेट्ने भन्नुभयो । अनि मैले मन नभए नभेट्नुस भनें । तर रातभरमा के भयो कुन्नी उहाँले विहानै पार्टी छोडेको सन्देश दिनुभयो । सारमा उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करीश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन ।
अब अन्तमा कुनै घर नछोड्नु छोडिसकेपछि एक अर्कोलाई हिलो छ्याप्ने नगर्नु नै उच्चतम राजनीतिक संस्कार हो । त्यसैले आगामी दिनमा त्यस्तै संस्कारको अपेक्षा हामीले राखिरहने छौं । आवश्यक परे, थप छलफल र गफगाफ त हुने नै छ ।