काठमाडौँ - सूचना तथा प्रविधि मन्त्री प्रवक्ता गोकुल बास्कोटाले दुई तिहाईको सरकार ढाल्ने तागत प्रतिपक्ष दल नेपाली कांग्रेससँग नभएको .बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा सरकार ढाल्ने चेतावनी दिएका थिए। उक्त चेतावनीको जवाफमा मन्त्री बाँस्कोटाले यस्तो अभिव्यक्ति दिएका हुन्।
शनिबार काभ्रेको पनौती नगरपालिकाको २ र ३ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्रतिपक्षलाई प्रश्न गर्दै वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने तागत कस्को छ ? भनेर प्रश्न गरे।
‘दिउँसै सपना नदेख्नुहोला,’ प्रतिपक्षतर्फ संकेत गर्दै उनले प्रश्न गरे, ‘एउटै पार्टीको दुई तिहाईको सरकार ढाल्ने कसको हिम्मत छ ?’ उनले सरकार ढाल्न सजिलो नभएको उल्लेख गर्दै सरकार ढल्न नेकपा पार्टी सिसा जस्तै धुजाधुजा हुनु पर्ने बताए।
सरकार ढल्छ भन्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भएको मन्त्री बास्कोटाको भनाइ थियो। उनले सरकार ढल्छ भन्ने हल्लामा सत्यता नरहेको स्पष्ट पारे। प्रतिपक्षले देश अस्थिरतातर्फ धकेल्न अफवाह फैलाएको उनले बताए। उनले नेकपाको दुई तिहाई बहुमतको सरकार ढाल्ने सपना भने देख्न सकिने उनले स्पष्ट पारे।