काठमाडौँ - नागरिक अगुवाद्वारा काठमाडौँको माइतिघरमा ‘लोकतन्त्रका लागि नागरिक खबरदारी’ गरिएको छ। शनिबार माइतिघरमा नागरिरक स्वतन्त्रताको सम्मान गर, सुशासनको प्रत्याभूति गर, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर, मानवअधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर र न्यायालयको स्वतन्त्रता कायम गर, लगायतका नारा र प्लेकार्ड बाकेको प्रदर्शनकारीहरूले खबरदारी सभा सम्पन्न गरेका छन्।
सभामा लोकतान्त्रिक स्वतन्त्रता विरोधी कदमको अवज्ञा गर्न र अहिंसात्मक नागरिक खबरदारी जारी राख्न आव्हान गरिएको थियो।
नागरिक अगुवा चरण प्रसाईले सरकार विभिन्न विधेयक मार्फत नागरिकका अधिकार खोस्न र बन्देज लगाउन उद्धत रहेको आरोप लगाए।
युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले नागरिकका मौलिक अधिकारमाथि सरकार गैर जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भएकाले आफूहरू धर्नामा उत्रिनु परेको बताए।
उनले भने, ‘सरकार नागरिकहरूका अधिकारमाथि अंकुश लगाएर मुख बन्द गर्न खोज्दैछ। सर्वसत्ताको अभ्यास प्रधानमन्त्रीले गर्दैछन्। आफैमा प्रधानमन्त्री शक्तिमान हुन्छ। तर, प्रधानमन्त्रीले सम्पूर्ण संवैधानिक अंगहरु आफ्नो नियन्त्रणमा राख्ने र अन्य आयोगहरू, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेमा उद्धत देखिन्छन्। यस पवृत्रिको विरुद्ध खबरदारी गर्नुपरेको हो।’