धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको बजेट सुदूरपश्चिमको गरिबी पछौटेपन हटाउनेतर्फ भन्दा पनि भ्रष्टाचारको संस्थागत विकास गर्नतर्फ लक्षित भएको आरोप लगाउँदै संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरू थप कडा रूपमा प्रस्तुत हुने संकेत देखिएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पूर्ण रूपमा कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई बढावा दिने खालको रहेको भन्दै संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले भोलि आइतबार बोलाइएको संसद पनि चल्न नदिने घोषणा गरेका छन्।
शनिबार संयुक्त पत्रकार सम्मेनल गर्दै दुई दलले प्रदेश सरकारले बजेटमा यस क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने गौरवका योजना नसमेटिएसम्म संसद अवरुद्ध जारी राख्ने बताए। कांग्रेस संसदीय दलका नेता डा रणवहादुर रावलले प्रदेश सरकारले अर्थ विविध शीर्षकमा साढे ६ अर्बभन्दा बढी बजेट छुट्याएर कार्यकर्तालाई बाँड्ने बजेट ल्याएको आरोप लगाए।
चालू आर्थिक वर्षको बजेटमा समेत व्यापक भ्रष्टाचार भइरहेको भन्दै रावलले सरकार जनताको आवश्यकताभन्दा पनि बजेटमार्फत नेता कार्यकर्ता पोस्ने बजेट देखिएको बताए। उनले भने, ‘प्रदेश सरकारका योजना १ हजार ५ हजार २० सम्मका पनि छन्। यो कस्तो बजेट हो ? यो सरकार नसच्चिए हामी थप कडा रूपमा प्रस्तुत हुन्छौँ।’
अवरुद्ध संसद सुचारु गर्ने विषयमा सरकारसँग तीन पटक वार्ता भए पनि सत्ताधारी टोली गम्भीर रूपमा प्रस्तुत नभएको रावलको भनाइ थियो। उनले दुई तिहाइको दम्भले पेलेरै जाने मनस्थितिमा सरकार गयो भने परिस्थिति नराम्रो हुने बताए।
राजपाका सांसद कृष्ण चौधरीले बजेट विनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले भएको बताए। सरकार हलुका ढंगले वार्तामा प्रस्तुत हुने गरेको भन्दै चौधरीले यसले परिणाम नराम्रो निम्त्याउने बताए।
वार्ता छलफल छोडेर प्रतिपक्षी दललाई बाइपास गर्ने काम यो सरकारले गरेको उनले बताए। प्रतिपक्षी दलका सांसदहरूले आफ्ना क्षेत्रका योजनाका लागि नभई सिंगो प्रदेशको विकासका लागि यो बजेटलाई बहिष्कार गरेको उनले बताए।
प्रतिपक्षी दुवै दलले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण गौरवका योजना भन्दै १६ वटा योजना अघि सारेर बजेटमा समावेश गर्न मागसमेत गरेका छन्। प्रदेश सरकारले ल्याएको रातो किताबलाई खाली किताब भन्दै जलाएका प्रतिपक्षी दलको अवरोधका कारण यसअघि तीन पटकसम्म संसद अवरुद्ध भइसकेको छ भने भोलि आइतबारको बैठक पनि अनिश्चित बनेको छ।