काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन्। परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज शनिबार उद्घाटन गर्दै उनले त्यस्तो धारणा राखेका हुन्।
‘देशको परराष्ट्र नीति, व्यक्तिपिच्छे, पार्टीपिच्छे फरक हुनु हुँदैन,’ प्रम ओलीले भने, ‘नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नुपर्छ।’ प्रम ओलीले नेपालले अब राजनीतिक कूटनीतिमा मात्र होइन, आर्थिक कूटनीतिमा पनि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘हाम्रो मुख्य उद्देश्य देशलाई समृद्धिको बाटोेमा तीव्र गतिमा अघि बढाउने हो । हाम्रो क्षमता सीप र प्रविधिलाई विकासतर्फ केन्द्रित गर्नुपर्छ।’
प्रम ओलीले राष्ट्र निर्माण, नेपाल एकीकरण र सार्वभौमसत्ताको रक्षाका लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए। उनले विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उल्लेख गर्दै भने, ‘छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरवलोकन गरेका छौँ।’ हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्ने र हामी पनि त्यतैतर्फ नै केन्द्रित रहेको उनको भनाइ थियो । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने हो।’
प्रम ओलीेले नेपाल केही समयसम्म पछि परेको उल्लेख गर्दै भने, ‘केही कारणले हामी केही समयपछि पर्यौँ तर अब त्यो स्थिति रहँदैन। तीव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौँ। गरिबीमाथिको हाम्रो प्रहार तीव्र छ । नेपालमा गरिबी अब लामो समय टिक्न सक्दैन।’
तस्बिरहरू : मुकुनद कालिकाेटे