काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुठी विधेयक खारेज नगरे सरकार ढाल्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा स्थानीय तह कर्मचारी युनियनद्वारा आयोजित प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठीमा देउवाले उक्त चेतावनी दिएका हुन्।
‘कांग्रेसले बाध्य पारेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको हो। अब उक्त विधेयकलाई खारेज नै गर्नुपर्छ। खारेज गरिएन भने हामी सडक आन्दोलनका कार्यक्रम ल्याएर सरकार ढालिदिन्छौँ।’ सरकारले संसदमा सर्वसत्तावाद लादने ढङ्गले विभिन्न विधेयक पेश गरेको उनको आरोप छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादले जनतादेखि कर्मचारीसम्म पीडित बनेको देउवाले बताए। कर्मचारी समायोजनमा समेत ओलीले आफ्नालाई काखा र अरूलाई पाखा पारेको उनले आरोप लगाए।
जागरण अभियानले नेता तथा कार्यकर्तामा सकारात्मक सन्देश दिएको भन्दै देउवाले त्यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, ‘अब कांग्रेसले जनताको मन जित्ने गरी काम गर्नुपर्छ।’ स्थानीय तह कर्मचारी युनियनमा आबद्ध कर्मचारीलाई समेत उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए।