काठमाडौं, ३ माघ – राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रियसभालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय महत्वका विषयमा प्रश्न उत्तर गर्न सकिने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै विधायन समितिका सभापति परशुराम मेघी गुरुङले अहिलेसम्म हेर्दा राष्ट्रिय सभाले संविधानले दिएको अधिकारअनुसार काम गर्दै आएको र थप प्रभावकारी बनाउनका लागि केही काम गर्न बाँकी रहेको बताएका छन्।
“तुलनात्मक रुपमा हेर्ने हो भने राष्ट्रिय संसद्अन्तर्गतका समिति प्रभावकारी नै छन्।” उनले भने, “फुल हाउसलाई थप प्रभावकारी बनाउनका लागि राष्ट्रिय महत्वका विषयको बहसको थलो बनाउने क्रममा प्रश्न उत्तरको कार्यक्रम शुरु भएको छैन, त्यसो गर्ने हो भने थप प्रभावकारी हुने थियो।”
नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभामा सत्ता पक्षका सांसदको प्रस्तुतिले सरकारको छायाँबाट बाहिर निस्किनै नसकेको जस्तो देखिएको बताए। उनले भने, “परिपक्वताकाे हिसाबले प्रतिनिधिसभाले गर्न नसकेका कतिपय विषयमा राष्ट्रियसभामा छलफल हुनुपर्दथ्यो, गुण र दोषका आधारमा नै सरकारलाई आफ्ना सुझाव दिने अथवा आलोचना गर्नुपर्छ तर मुख्यमुख्य विषयमा सरकारको छायाँको रुपमा राष्ट्रियसभा रहेको जस्तो देखिएको छ।”
राष्ट्रियसभा सदस्य विमला पौडेलले सभामा केही राष्ट्रिय विषयमा छलफल भए पनि त्यस बारेमा सरकार वा सम्बन्धित निकायबाट सम्बोधन नहुनु विडम्वनाको विषय भएको बताए।