काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको प्रदेश संरचनालाई पूर्णता दिन भन्दै भागबन्डाबाट सातै प्रदेशमा प्रदेशस्तरीय तदर्थ समिति बनाउने तयारी गरेका छन्। सभापति देउवाले आगामी २२ असारमा बोलाइएको केन्द्रीय समिति बैठकबाट प्रदेश संरचनालाई पूर्णता दिन भन्दै सातै प्रदेशमा तदर्थ समिति बनाउने गरी तयारी गरेका हुन्। उनले सो प्रस्तावबारे वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन्।
कांग्रेस उच्च स्रोतका अनुसार देउवाले सात प्रदेशमध्ये चारवटाको नेतृत्व आफूले राख्ने र तीन वटामा पौडेललाई नेतृत्व दिने गरी प्रस्ताव गरेका हुन्। तर, सो प्रस्तावमा वरिष्ठ नेता पौडेलले भने सहमति जनाएका छैनन्। उनले सो विषयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीसहितका अन्य केही नेतालाई जानकारी गराएका छन्। सोही विषयसहित आगामी केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा संस्थापनइतरका नेताहरुको मंगलबार छलफलसमेत भएको छ।
कांग्रेस विधानमा प्रदेश कार्यसमिति गठनका विषयमा प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेको प्रदेशभित्रका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट सभापति निर्वाचित गर्ने उल्लेख छ
वरिष्ठ नेता पौडेलले तदर्थ समितिका नाममा विधानविपरीत कसैलाई ‘बक्सिस’ दिने गरी कुनै कुरा मान्य नहुने बताए। उनले निर्वाचन प्रक्रियामार्फत नै प्रदेश संरचनालाई पूर्णता दिनुपर्ने पक्षमा आफू प्रस्ट भएको बताए। ‘मेरो कुरा क्लियर छ, तदर्थ समिति म जान्दिनँ। जे हुन्छ, निर्वाचनबाटै हुन्छ। चुनाव विधानअनुसार गर्नुपर्छ । म केन्द्रीय समितिमा बोल्छु,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने।
पूर्वमहामन्त्री सिटौलाले समेत विधानमा जे व्यवस्था छ, सोहीअनुसार प्रदेश संरचनाको भर्पाई गरिनुपर्ने बताए।विधानमा के छ, त्यो गर्ने हो। विधानअनुसार नै गर भनेर हामीले भन्ने हो। विधानविपरीत हुन दिन्नौं,’ सिटौलाले भने।
संस्थापनइतर समूहका नेताहरुले पार्टीको निर्वाचित केन्द्रीय समितिको म्यादसमेत सकिन लागेको अवस्थामा विधानविपरीत कुनै पनि काम गर्न नहुने भन्दै नेताहरु भागबन्डामा अल्झिन नहुने धारणा राख्दै आएका छन् ।
कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संशोधित विधानमार्फत मुलुकको संविधानले तय गरेअनुसारको संरचनामा पार्टीको संरचना तय गरिएको थियो । कांग्रेसलाई विधानमा गरिएको संशोधनपछि प्रदेशमा संरचना बनाउन बाटो खुलेको थियो।
कांग्रेस विधानमा प्रदेश कार्यसमिति गठनका विषयमा प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको प्रदेशभित्रका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट सभापति निर्वाचित गर्ने उल्लेख छ।
तर, कांग्रेसको हालसम्म केन्द्र र जिल्लाबाहेकको संरचना भद्रगोल अवस्थामा छ। स्थानीय तहमा समेत केहीमा बाहेक कांग्रेसको संरचना अलमलमा नै छ । गत निर्वाचनमा निर्वाचन क्षेत्र हेरफेर भएपछि कांग्रेसको संरचना भद्रगोल भएको छ।
सिटौला, सिंह र शेखर गएनन्
नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पहिलो चरणको जनजागरण अभियानको छलफल तथा समीक्षा कार्यक्रमलाई नेताहरुले बहिष्कार गरेका छन्। पहिलो चरणको जागरण अभियान सकिएपछि ७७ वटै जिल्लाका प्रतिनिधि बोलाएर कांग्रेसले बुधबार जागरणको समीक्षा गरेको हो। ११ बजेका लागि बोलाइएको समीक्षा बैठक सभापति शेरबहादुर देउवा पुग्न ढिला भएपछि करिब १ बजे मात्रै सुरु भएको थियो।
सो समीक्षात्मक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी थिए। तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु डा। शेखर कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत भने गएनन्। कार्यक्रममा सिटौला पक्षधरका नेता सहभागी भएनन्।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जागरण अभियानको समीक्षामा सबैलाई बोलाइएको बताए । ‘समीक्षामा सबैलाई बोलाइएको थियो, धेरै साथीहरु आउनुभएको छ। केही साथी किन आउनुभएन उहाँहरुको कुरा हो,’ सहमहामन्त्री महतले राजधानीसँग भने।
समीक्षात्मक छलफलमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शंशाक कोइराला, उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदारसहितका नेताहरु सहभागी थिए। कांग्रेसले जागरण अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। समीक्षात्मक बैठकमा जिल्लाबाट फर्किएका केन्द्रीय प्रतिनिधिले जिल्लामा जाँदा स्थानीय नेता कार्यकर्ताबाट आएको गुनासो र सुधार गर्नुपर्ने विषयमा धारणा राखेका छन्। छलफल बिहीबार पनि चल्नेछ। यो समाचार राजधानी दैनिकले छापेको छ।