काठमाडौँ - भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रीपरिषद् पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताएका हुन्।
उनले भने, ‘मन्त्रीपरिषद् पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो। यसमा कुनै सत्यता छैन। यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो।’
उनले तत्काल मन्त्रीपरिषद् पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तत्काल मन्त्रीपरिषद् हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ। उनले भने, ‘मन्त्रीपरिषद् पुनगर्ठन भए पनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ। हुन सक्दैन भनेर भन्न सकिँदैन। यो पार्टीले गर्ने निर्णय हो। तर,तत्काल मैले यो सम्भावना देखेको छैन।
मन्त्रीपरिषद् पुनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन्। यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन। अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको होइन।’
सरकार आलोपालो रुपमा चलाउनेबारे सहमति के हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा मन्त्री महासेठले भने, ‘हाम्रो अध्यक्षद्वयको बीचमा भएको सहमति ऋषि धमलाजीलाई साक्षी राखेर भएको छैन।’ अध्यक्षद्वय ओली र प्रचण्डबीच यदि सहमति भएको भए उक्त सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारे। सरकार सञ्चालनबारे पनि पार्टीभित्र सहमति नै रहेको उनको जिकिर थियो।
महासेठले भने, ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन। मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो। तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने हुन्छ। तर, अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन। यो हल्लाको विश्वास नगर्नको लागि म आग्रह गर्दछु।’
सरकार गठन भएको १७ महिना व्यतीत भएको र यो अवधिमा सरकार कुनै पनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ।
उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताएका हुन्। सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति उनले गुनासो पोखे।
उनले भने, ‘सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेन भनेर आलोचना गरिएको पनि सुनिएको छ, तर यथार्थमा त्यस्तो होइन। सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिएका छौँ। विकास र समृद्धि भनेको कुरा एकै वर्षमा अर्थात् रातारात हुने कुरा होईन। अब बजेट कार्यान्वयनसँगै धमाधम विकासका काम अघि बढ्छन्।’
मन्त्री महासेठले सरकारले एक वर्षमा इतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकर्ड’ नै कायम गरेको पनि दाबी गरे। उनले भने, ‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौँ। नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौँ। यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ।’
सरकारको पहिलो वर्षको दुई तिहाई समय ऐन, नियम बनाउनमा व्यतित भएको बताउँदै महासेठले अब जनतामा प्रत्यक्ष प्रभावका पार्नेगरी द्रुत गतिमा काम अघि बढ्ने विश्वास दिलाए।
सरकारले एक वर्षमा एक हजार किलोमिटर सडक पिच गरेको, एक हजार पन्ध्र सय किलोमिटर सडक ग्राभेल गरेको र पन्ध्र सय किलोमिटर नै नयाँ ट्रयाक खोलेको पनि उनले सुनाए। उनले भने, ‘एक वर्षमा इतिहासमा कुनै पनि सरकारले ८ सय किलोमिटर सडक पिच गरेको थिएन । हामीले गरेर देखाएका छौँ।’
सरकारले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा फड्को मारेको महासेठको दाबी छ। यद्यपि उनले सरकारले गरेका राम्रा कामको जनतासामू पर्याप्त प्रचारप्रसार नभएको बताए। सरकारले सिन्को नै भाँचेन भन्ने नाममा सरकारमाथि चौतर्फी घेराबन्दी भएको महासेठको भनाई छ। तर,सरकारका विरोधमा गरिएको आलोचनामा कुनै दम नभएको उनको दाबी छ।
सरकार बनेको एक वर्षभित्रमा नै ७ प्रतिशतको आर्थिक वृद्धि भएको सुनाउँदै उनले अर्को आर्थिक वर्षभित्र ९ प्रतिशतको वृद्धिदर पुर्याउने घोषणा गरे। आगामी चार/पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्नेपनि उनले दाबी गरे। दोहोरो अंकको आर्थिक वृद्धिदर नारा र गफ गरेरमात्रै हाँसिल हुँदैन भन्ने कुरामा सरकार सचेत रहेको बताउँदै उनले अब द्रुत गतिमा विकास निर्माणका कामहरु अघि बढाईने विश्वास दिलाए।
उनले सरकारले रेलमार्ग निर्माणको कामपनि तिव्र गतिमा अघि बढाइरहेको सुनाए। उनकाअनुसार पुर्व–पश्चिम रेलमार्गको डीपीआर को काम धमाधम भइरहेको छ। देशैभरिका रेल मार्ग निर्माणको लागि धमाधम काम भैरहेको महासेठको भनाई छ। आगामी दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा गरे।
त्यस्तै, उनले जनकपुर–जयनगर रेल सञ्चालनको अन्तिम तयारी भैरहेकोले छिट्टै भारतबाट दुई सेट रेल ल्याउने जनाए। यातायात क्षेत्रमा रहेका सबैखाले विकृति तथा विसंगतिहरु अब हल गर्नेगरि यातायात प्राधिकरण गठन हुन गैरहेको र त्यससम्बन्धी विद्येयक संसदमा जान लागेको पनि उनले सुनाए।
निर्माण व्यवसायीहरुले अघि सारेका जायज सुझावहरुलाई सरकारले मनन गर्ने उनले विश्वास दिलाए। सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा व्यवसायीहरुको जायज सुझावलाई सरकारले ग्रहण गर्ने उनले प्रतिबद्धता जनाए। उनले भने, ‘हाम्रो देश नेपाल बनाउने भनेको नै नेपाली निर्माण व्यवसायीहरुले नै हो। अरुले आएर देश बनाउँदैन्।’
मन्त्री महासेठले आफूहरूले प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अघि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘हामीले बजेट ल्याउँदापनि कांग्रेसको राय र सल्लाह लिएका थियौँ।’ उनले बजेट विकासमुखी रहेको पनि दाबी गरे। आगामी दश वर्षभित्र नेपाल मध्य विकसित राष्ट्रमा पुग्नेपनि उनले दाबी गरे।