कैलाली– सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो ।
प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर आउँदो असार १२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ सम्मका लागि बैठक स्थगित गरेर ११ गतेका लागि आह्वान गरेको थियो ।
बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतको माग छ । तर, सत्तारुढ दल बजेटको बचाउमा छ । आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोरा बजेट सन्तुलित रहेकाले संशोधन नहुने बताए । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।