काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकताले पूर्णता पाएको छैन । एकताको टुंगो लगाउने जिम्मेवारी सचिवालयले पाएको छ। सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायकाजी श्रेष्ठ र रामबहादुर थापा ‘वादल’ छन्।
एकता टुंग्याउन सचिवालय बैठक पटक–पटक बस्छ। तर विनानिष्कर्ष टुंगिन्छ। विवादित विषयको निर्णय भने अपुरै हुँदै आएको छ। सरकारी पदमा रहेका नेता र बाहिर रहेका नेतालाई दोहोरो भूमिका दिने कि नदिने भन्ने विषयमा पार्टीभित्र विवाद छ। यो कार्याविभाजनको विषय हो। सोही कारण ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको नामावली सार्वजनिक गर्न नेकपालाई हम्मे–हम्मे परेको छ।
त्यसैगरी नेकपाको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छैन केन्द्रीय विभागहरू गठन गर्ने र पार्टीलाई केन्द्रीकृत योजना अन्तर्गत परिचालिन गर्ने काम पनि बाँकी नैै छ। यस विषयमा पार्टीले ठोस निष्कर्ष निकाललन सकेको छैन। तयारी नपुगेका कारण पुनः बैठक बसेर समस्या सल्ट्याउने नेताहरू बताउँछन्।
शीर्ष नेताले आफू निकटका नेतालाई दोहोरो जिम्मेवारी दिन खोजेपछि कार्यविभाजनमा विवाद कायम रहेको नेकपा स्रोतको भनाई छ। पूर्व एमाले र माओवादी केन्द्रबीच १३ महना अघि पार्टी एकता भएको थियो। नेकपाका केन्द्रीय नेताहरू अझै जिम्मेवारविहीन छन्।
सचिवालय सदस्य झलनाथ खनालले सचिवालय वैठकमा एजेण्डभन्दा एजेण्डात्तर विषयमा छललफ हुने बताए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक भनेर बोलाए पनि बैठक जस्तो नहुने खनाल बताउँछन्। फगत भेटघाटमा मात्रै सीमित हुने उनको भनाइ छ।
वरिष्ठ नेता खनालले भने– ‘सचिवालयको शनिबारको त्यो वैठक नै होइन। एक्छिन गफ गर्न बोलाइको मात्रै हो।’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले एजेण्डाविना सचिवालय बैठक डाकिएको बताउँदै अध्यक्षद्वयले के एजेण्डामा वैठकमा छलफल गर्ने हो त्यसको तयारी नगरेको बताए। खनालले थपे, ‘अध्यक्षले यी एजेण्डा अगाडि सारेर तयारी नगरीकन वैठक बोलाएकाले निर्णय हुन सकेको छैन।’
सरकारले ल्याएका विधेयकको जनस्तरबाट तीव्र आलोचना हुने गरेको छ। पार्टीभित्र न यस्ता विधेयको छलफल हुन्छ न पार्टीका कुनै विषयमा छलफल नै हुन्छ । यसले गर्दा पार्टी एकताप्रति अविश्वास र अबिलम्ब हुँदै गएको खनालको भनाई छ ।
खनाल यसको जिम्मेवारी अध्यक्षद्वयले लिनुपर्ने बताउँछन् । उनले अध्यक्षद्वय गम्भीर नभएको भन्दै गम्भीर हुन सुझाव समेत दिए । उनले भने, ‘यसले असर पार्छ । त्यो कुरा अध्यक्षद्वयले गम्भीर रूपले बुझ्नुपर्छ ।’
राजनीतिक विश्लेषक सोमत घिमिरेले नेकपाको सचिवालय आफैंले सचिवालयको भूमिका निर्वाह नगरेको बताउँछन् । अध्यक्षद्वयलाई जिम्मेवारी दिएर सचिवालयका अन्य सदस्यहरू निरीह भएको घिमिरेको टिप्पणी छ ।
घिमिरेले भने, ‘सचिवालयले आफैंले सचिवालयको भूमिका निर्वाह गरेको छैन । सचिवालयले कहिलेकाहिँ हामीले गर्ने सकेनौं, दुईवटा अध्यक्षले गर भन्ने हिसावले कुरा गर्छ । पार्टीचिभत्र बन्ने आयोगहरू स्वयमले हामीले काम गर्न सकेन अध्यक्षले नै काम गर्नुहोस् भनेर निरीह भएर म्याण्डेड दिइन्छ । भनेपछि सचिवालय पनि दुईवटा अध्यक्षका अगाडि धेरै काम गर्न सकेका छैनन् । सचिवालय छ तर देखाउनका लागि मात्रै छ ।’
सरकारले ल्याएका विधेयकहरूको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । पार्टीमा छलफल नै नहुने पार्टीका अन्य सदस्यहरू बताउँछन् । पार्टीमा छलफलबिना अध्यक्षद्वयले गरेको निर्णय नै पार्टीले मान्नुपर्ने अवस्था छ । यसले नेकपाको भविष्य कस्तो देखिन्छ ? ओली–प्रचण्डले गरेका निर्णयको किन विरोध भइरहेको छ ? ओली–प्रचण्डले आफूलाई मात्रै सर्वशक्तिमान अरू भुुसुना देखेका हुन ? यस विषयमा विश्लेषक घिमिरेले विधेयकको विषयमा पार्टीमा, विज्ञहरूसँग छलफल गर्ने संस्कार सरकारसँग नभएको बताए ।
उनले भने, ‘संसद्म छलफल गरेर परिपक्व विधेयक सरकारले लैजाने संस्कार आएन । विधेयकबारे संसद् र पार्टीलाई राम्रोसँग थाहा हुँदैन । यो प्रश्नको मुल अफठ्यारो संसदीय दल र पार्टीको सम्बन्ध के हो ? सरकार र पार्टीको सम्बन्ध के हो ? भन्ने विषयमा नेपालमा धेरै पहिलादेखि जटिल बन्दै आएको छ ।’
प्रसङ्ग खुलाउँदै विश्लेषक घिमिरे भन्छन्, ‘२०४८ सालमा गिरिजाबाबु र गणेशमान सिंहबिचको झगडा पनि पार्टी र सरकारबीचको सम्बन्धको झगडा हो । पार्टीहरूमा त्योबलादेखि झगडा चलिरहेको छ । त्यसको कारण पार्टीमा शक्तिशाली व्यक्तित्व बनाउने र हिरो खडा गरेर अरूलाई छलफलमा पनि सहभागी नगराउने, विधि, पद्धति, प्रक्रियाका आधारमाभन्दा ‘हिरोइज्म’ का आधारमा चलाइने गरियो ।’
उनले अहिले नेकपामा ओली र प्रचण्ड सोही भुमिकामा रहेको टिप्पणी गरे । ‘उहाँहरूले सबैथोक गर्ने भन्ने यो विधि प्रक्रिया ‘लाई धेरै वास्ता नगरिकन ‘हिरोइज्म’ मा आधारित हुनुभयो’, पार्टी एकताको सम्झँदै घिमिरेले भने, ‘एकता गर्दा उहाँहरूले सांगठनिक शैलीमा छलफल गर्नुभएन । पार्टी एकता त विधिमा हुन सक्थ्यो, प्रक्रियामा हुन सक्थ्यो, त्यसका पनि विधि होला नि ! त्यो कुरा उहाँहरूले ख्याल गर्नुभएन । चुनाव थियो । उहाँहरूलाई हतार पनि थियो । दुईवटा अध्यक्ष मिल्ने वित्तिकै उहाँहरूलाई पार्टी मिल्छ भन्ने लाग्यो । तर अहिले अफठ्यारो थपिदै गएको छ । जति विधि, प्रक्रिया बन्दैन दुईवटा अध्यक्षलाई अफठ्यारो थपिदै जान्छ ।’
पार्टी एकताले पूर्णता नपाउँदा नेता तथा कार्यकर्ताहरू असन्तुष्ट बन्दै आएका छन् ।