काठमाडौँ - आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक ०७६ संघयी संसदबाट बहुमतले पारित भएको छ।
मन्त्रालयबाट विनियोजित विभिन्न शीर्षकमाथिको छलफल तथा सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम सकिएलगत्तै मंगलबार विधेयक पारित भएको हो।
संसद् नियमावलीअनुसार प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक अब राष्ट्रिय सभामा छलफलका लागि जानेछ। १५ दिनभित्र राष्ट्रिय सभाबाट विधेयक प्रतिनिधिसभामा फिर्ता हुनुपर्ने व्यवस्था छ।
प्रतिनिधिसभामा मंगलबार नै आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत तेइसौँ संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ।
बजेटसँग सम्बन्धित यी विधेयक पारित भएपछि मात्रै सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि १५ जेठमा संघीय संसद्मा प्रस्तुत गरेको १५ खर्ब ३२ अर्बको बजेट पूर्ण रूपमा पारित हुनेछ।