काठमाडौँ - नव गठित समाजवादी पार्टी नेपालका सांसद एवं पर्सा लिल्लाका तत्कालीन अध्यक्ष प्रदिप यादवलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ। पार्टीको गैर जानकारीमा सांसद यादव लाटभियाको एक कार्यक्रममा भाग लिन गएकाे कारण देखाउँदै पार्टीले उनलाई ६ महिनाका लागि निलम्बन गरेको हो।
लाटभियामा स्वतन्त्र तिब्बतसम्बन्धी एक कार्यक्रममा सांसद यादव सहभागी भएको र उक्त क्रियाकलाप पार्टी नीति विपरीत रहेको ठहर गर्दै पार्टीले उनलाई साे अविधसम्मका लागि निलम्बन गरेको विश्वस्त सूत्रले नेपाली पब्लिकलाई जानकारी दिएको हाे।
यसका बारेमा सांसद यादवसँग बुझ्दा उनले भने, ‘बिहानसम्म मन्त्रीजी (उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव) सँग साथमा थिएँ। उहाँले यसबारेमा केही पनि भन्नु भएन। एकाएक मलाई निलम्बन गरेको विज्ञप्ति प्रकाशित भएको जानकारी पाएँ। योभन्दा बढी अहिले केही पनि भन्न सक्ने अवस्थामा म छैन।’
नेपालका सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको लाटभियाको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भएलगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष असन्तोष व्यक्त गरेको थियो। चीनलाई खुशी बनाउनका निम्ति आफ्ना प्रभावशाली सांसद यादवलाई निलम्बन गरेको पर्साका जिल्ला एक नेताले आरोप लगाएका छन्।