काठमाडौँ - नायिका एवं छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन्। मंगरबार अपरान्ह वीर अस्पतालको क्याविन नं. पाँचमा उपचारत राजपाका नेता एवं निलम्बित सांसद चौधरीलाई नायिका थापाले भेटेकी हुन्।
भेटमा थापा र चाैधरीले राजनीतिकसंगै कलाकारिताको बारेमा छोटो कुराकानि गरेका थिए। चौधरीले जेल भोगाइका क्रममा टिकापुरको घटनालाई लिएर लेखेको पुस्तक ‘टिकापुर घटनाको चिरफार’ नायिका थापालाई स-प्रेम उपहार प्रदान गरेका थिए।
उक्त भेटपछि नायिका थापाले नेपाली पब्लिकसँगको कुराकानिमा भनिन्,‘नेपालको परिवर्तनकाे दाैरानमा केही क्षती र केही उपब्धि भएका छन्। रेशम दाइमाथिको मुद्धा अदालतले छिनोफानो गरिसकेको छ। हामी कानूनी राज्यको नागरिक भएका नाताले यसलाई सम्मान गर्छौं। तर, दबिएका, दबाइएका र पछाडि पारिएको समुदाय र वर्गको बारेमा निरन्तर आवाज मुखरित गर्ने उहाँ जस्ता व्यक्तिहरूमाथि राज्यले हेर्ने नजर फराकिलो नभएको पक्का हो।’
संविधान सभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको मृत्यु भएको थियो। उक्त घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो।
भूमिगत जीवन बिताइरहेकै अवस्थामा चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए। सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहण गराएको थियो। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन्।
तस्बिर: धनराज वास्तविक