काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ का नेता नरबहादुर कार्कीलाई थप अनुसन्धानको लागि एक हप्ता हिरासतमा राखिने भएको छ। नेता कार्कीलाई प्रहरीले अदालतमा प्रस्तुत गरेपछि उनलाई दालतले एक हप्ता हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो।
सोमबार राजधानीको बालुटारबाट पक्राउ परेका सामाजिक अभियन्ता एवं अन्तर्राष्ट्रिय ‘मोटिभेटर’ कार्कीलाई प्रहरी वृत्त दरबार मार्गमा राखिने प्रहरीले जानकारी दिएको छ।
उनलाई सोमबार र मंगलबार साँझसम्म महानगरीय प्रहरी परिसरटेकुमा राखिएको थियो। ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समर्थक भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रतिबन्धित नेकपाका प्रभावशाली नेताका रुपमा हेरिने कार्की लामो समयसम्म खुला रुपमा आफ्ना अभिव्यक्ति राख्दै आएका थिए। पार्टी नेतृत्वसमेत भुमिगत रहेको अवस्थामा उनी खुला रूपमा पार्टीका धारणा, विचार र वार्ताको माध्ययम मार्फत समस्याको समाधान खोजिनु पर्ने बताउदै आएका थिए।
प्रहरी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार नेता कार्कीलाई साधारण सोधपुछको लागि पक्राउ गरिएको हो। उनले नेपाली पब्लिकसँगको संक्षिप्त कुराकानिमा भने, ‘उहाँलाई अरु कुनै कारण पक्राउ गरिएको होइन। सामान्य सोधपुछको लागि पक्राउ गरिएको हो। एक सातासम्म उहाँमाथि अनुसन्धान गरिनेछ।’