काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकाले बजेट कार्यान्वयनसँगै मन्त्रीहरू अदलीबदली हुन सक्ने खुलासा गरेका हुन्।
नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामी एकताको पक्षमा छौँ। एकता रहरका लागि गरिएको होइन। त्यसैले विगतमा भएका सहमति इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ।’
उनले वर्तमान सरकार ५ वर्षसम्मका लागि निर्वाचित भएकाले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे। यद्यपि संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे। उनले भने, ‘सरकारको कामलाई प्रभावकारी बनाउनका लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ। तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ।’
सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आइरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव थियो। उनले भने, ‘सरकारले सुशासनको क्षेत्रमा शून्य सहनशिलता अपनाउनुपर्छ।’ भ्रष्टाचार न्यूनीकरणका लागि पनि त्यस्तै गम्भीर पहलकदमी चाल्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘भ्रष्टाचार न्यूनीकरणका लागि विपक्षीले उठाएको आवाज स्वागतयोग्य छ।’
पौडेलले गुठी विधेयकलगायतका अन्य कुनै पनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालका लागि स्थगन मात्र गरिएको स्पष्ट पारे। उनले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका ७५३ वा गाउँपालिकाहरूले बजेट बनाउने पनि सुनाए। सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाइ छ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनीष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरूसँग सूचना रहेको खुलासा गरेका छन्। उनले भने, ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याइ छ। हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौँ। र, ल्याकत छैन पनि। बरु, यो सरकार आफैँ ढल्ने मसँग सूचना छ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे।
पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरू चिन्तित रहेको सुनाए। आफ्नो पार्टीका केन्द्रीय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए। उनले भने, ‘उहाँ अहिले बिरामी हुनुहुन्छ। उपचार गराइरहनुभएको छ। यसरी हतियारबन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन। उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाइएको छ।’
फरक प्रसंगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताका लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसका लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरूको अडान रहेको स्पष्ट पारे। उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ। उहाँहरू र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन्। जस्तो, राष्ट्रपतिबारे उहाँहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं।’
मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरूको मनोकांक्षा पूरा गर्नका लागि पनि एकता आजको आवश्यककता रहेको उनको भनाइ छ।