पोखरा - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज मंगलबार आयोजना गरेको नेपाल बन्दले पोखराको जनजीवन प्रभावित बनेको छ। आफ्नो पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको हो।
बिहान सार्वजनिक सवारी निकै कम चले पनि अहिले भने निजी तथा भाडाका सवारीहरू चल्न थालेका छन्। पोखराका मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, चिप्लेढुङ्गा, न्यूरोडलगायका स्थानका पसलहरू पूण रूपमा बन्द छन् भने भित्री बजारहरू केही मात्रमा खुलेका छन्। बन्दका कारण देशकै ठूलो महानगरमा सार्वजनिक सवारीसाधनहरू चल्न सकेका छैनन्। सडकमा निजी सवारीसधानहरू भने बाक्लै मात्रामा गुडेका छन्। सडकमा केही साना भाडाका सवारीसाधनहरू समेत गुडेका छन्।
पोखराबाट अन्यत्र जाने लामा तथा छोटा दूरीका कुनै पनि सवारीसाधन नचलाइएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए। शैक्षिक संस्था, उद्योग कलकारखाना पनि बन्द भएका छन्। बन्दकर्ता सडकमा नदेखिए पनि पोखरालगायतका छिमेकी जिल्ला, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङलगायतका जिल्लाहरूसमेत प्रभावित भएका छन्।
