काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आव्हान गरेको नेपाल बन्दले संघीय राजधानी काठमाडौँमा न्यून प्रभाव पारेको छ।
तर, अन्य जिल्लाको जनजीवन प्रभावित बनेको छ। गत साताको बिहीबार सर्लाही इन्चार्ज कुमार पौडेलको ‘इन्काउण्टर’ पछि आक्रोशित बनेको नेकपा विप्लवले देशका विभिन्न स्थानहरूमा बम विष्फोट र शंकास्पद वस्तु राखेर जनजीवन त्रसित पार्ने प्रयास गरेका छन्।
बन्दको त्रासले उपत्यका बाहिर विप्लवको प्रभाव भएको ठाउँमा सवारी साधन ठप्प छन्। पसल तथा शिक्षण संस्था बन्द भएको छ। विप्लव समूहको गतिविधि न्यून भएको ठाउँमा बन्दको प्रभाव पनि न्यून छ।
उपत्यकामा ३ हजार प्रहरी
काठमाडौँ उपत्यकामा तीन हजार सुरक्षाकर्मी तैथान छन्। ललितपुर र भक्तपुरमा सार्वजनिक सवारी साधन निर्वाध रुपमा संचालन भइरहेक छन्। यद्यपि सवारी साधन अरु दिनको तुलनामा भने कम छन्। पसलहरू प्रायः खुलेका छन्।
ललितपुरको जावलाखेलमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। त्यस्तै चितवनको विभिन्न ठाउँमा बम विष्फोट भएको छ। चितवनको कालिका नगरपालिका ९ स्थित शक्तिखोर बजारमा बम विष्फोट भएको हो।
प्रदेश १
प्रदेश १ सरकारले नेकपा विप्लवबाट हुन सक्ने अप्रिय घटनाप्रति सजकता अपनाएको छ। झापाका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेको भेटिएको छ।
अप्रिय घटना हुन नदिन विभिन्न स्थानमा सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरेको छ। बन्द गर्न खोज्नेलाई तुरुन्त पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ।
प्रदेश २
प्रदेश २ सरकारले पनि विप्लवबाट हुन सक्ने अप्रिय घटनाप्रति सजकता अपनाएको जनाएको छ। अप्रिय घटना हुन नदिन सुरक्षानिकायले कडा निर्देशन दिएका छन्। बन्द गराउने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले बन्दप्रति विशेष सजगता अपनाएको छ। विप्लवबाट हुन सक्ने घटना रोक्न सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए।
प्रदेश ५
विप्लव समूहबाट हुन सक्न अप्रिय घटना हुन दिन प्रदेश ५ मा सुरक्षाकर्मिले विभिन्न ठाउँमा गस्ती बढाएको छ। १२ वटै जिल्लामा सुरक्षाकर्मीलाई प्रभावकारी रुपमा परिचालन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले बताए।
खासगरी यो प्रदेशमा बन्दको प्रभाव बढी देखिएको छ। नेपाल बन्दको प्रदेश ५ का विभिन्न स्थानमा बिहानैदेखि प्रभाव परेको छ। प्रदेशका बुटवल, भैरहवा, परासी, तौलिहवा, चनरौटा, दाङ, बाँकेलगायतका स्थानमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो।पहाडी जिल्लाका सदरमुकामहरुमा पनि बन्दको प्रभाव परेको छ।
बन्दका कारण बिहानी सत्रका शैक्षिक संस्थाहरु खुलेका छैनन् भने बजार पसलहरु बन्द छन्। लामो तथा छोटो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छैनन्। निजी साधनहरु भने चलेका छन्। सोमबार छुटेका यातायातका साधनहरुलाई स्कर्टिङ गरी गन्तव्यसम्म र्पुयाइने प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश
अन्य ठाउँको तुलनामा कर्णाली प्रदेश विप्लव समूहको प्रभाव क्षेत्र मानिन्छ। त्यसकारण कर्णाली प्रदेश सरकारले बन्दमा हुन सक्ने अप्रिय तथा अपराधिक घटना हुन नदिन विशेष सुरक्षा अपनाएको छ। कर्णाली प्रदेशमा गाउँपालिका, वडा कार्यालयदेखि उद्योग तथा कलकारखानासम्म सुरक्षाकर्मीले विशेष निगरानी गरेका छन्।
सुदूरपश्चिम प्रदेश
नेकपा विप्लवको बन्दले सुदूरपश्चिममा पनि प्रभाव पारेको देखिन्छ। कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ। आज मंगलबार बिहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
एकजना अज्ञात व्यक्ति राती १ बजे नगरपालिका कार्यालयभित्र शंकास्पद झोला फालेर जंगलतिर भागेका थिए। यो देखेपछि कार्यालयका सुरक्षा गार्डले प्रहरीमा खबर गरेको थिए।
तर, डिस्पोज गर्ने टिम पुग्नुअगाडि नै बम विस्फोट भएको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। विस्फोटबाट कार्यालयमा कुनै क्षति नभएको उनले बताए। उनका अनुसार झोलाभित्रै बम विस्फोट भएको थियो।