झापा - जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शक्तिशाली बम फेला परेको छ। नगरपालिकाको मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हाे।
घटनास्थलमा अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्। उक्त शंकास्पद वस्तु फेला परेपछि नगरपालिकाको बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ।
आज नगरसभाको बैठक रहेको र आजै नेकपा (विप्लव) ले बन्दको आयोजना गरेको हुनाले सुरक्षा ब्यवस्था कडा बनाइरहेको अवस्थामै यसरी बम कार्यालय भित्रै भेटिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
माइको पुलमा बम
त्यस्तै झापाकै कन्काइ माइको पुलमा बिहानै बम भेटिएको छ। बन्दको दिन बम भेटिएपछि छोटो दुरीका छिटफुट यातायातका साधनसमेत चल्न सकेका छैनन्।
झापाको कारकरभिट्टाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्। बजार तथा उद्योगहरु सबै ठप्प रहेको र बिहान सञ्चालन हुने शिक्षण संस्थाहरुसमेत बन्द रहेको र झापामा बन्दको प्रभाव पुर्ण रुपमा परेको झापाबाट हाम्रा संवाददाताले बताएका छन्।
बम राखेको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी प्राप्त भएको छ।