काठमाडौँ - नेपाली कांग्रेस युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गणतन्त्र दुर्घटनामा पर्ने थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सोमबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा स्व. गिरीजाप्रसाद कोइरालाको ९५औँ स्मृति दिवसका अवसरमा जीपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको ‘देशको राजनीतिक परिस्थिति र कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।
उनले भने, ‘देश राम्रोसँग चलाउछु भनेर जिम्मा लिएका मानिसबाटै यस्तो खतरा छ। चालक कच्चा पर्यो भने, असली चालक नभएपछि समस्या खडा हुन्छ। नेकपाको सरकार अब तीन वर्ष रहन्छ। त्यो अवस्थासम्म कुनै पनि हालतमा चाहेर पनि हामीले उनीहरूलाई साइड लगाउन सक्दैनौं। तर, दाँया बाँया गर्न दिनुहुँदैन। त्यसको लागि हामीसँग नैतिक बल चाहिन्छ। त्यसको लागि हामी तयार हुनुपर्छ।’
गुठी विधेयकका बारेमा बोल्दै नेता थापाले भने, ‘संसदमा हामीलाई पेलेर सरकार अघि जान सक्ने अवस्था छ। तर, माइतीघरमा गुठीयारको आन्दोलनमा सारा मानिसले ‘कहाँ हो बेमान ज्वाँइ’ भनेपछि काप्दै क्षमा-क्षमा ! भन्दै मैले भनेकै छैन भनेर बोल्नुपर्यो। अब हामीले जनताको तागतलाई संसदसँग एकाकार गर्नुपर्छ। त्यसको लागि कांग्रेस वैचारिक, नीतिगत रुपमा स्पष्ट नभएसम्म यो कुरा सम्भव छैन।’
डा. बाबुराम भट्टराईले ट्वीटमार्फत ‘वीपीलाई कमल थापाले अपहरण गरे जोगाओ’ भनेर लखेको प्रसँग उल्लेख गर्दै उनले भने, ‘आज कमल थापा विपीको मेलमिलाप सिद्धान्तलाई आफ्नो पार्टीको मार्गदर्शक बनाए। हुन पनि हिजो हामीले बाबुरामलाई भोट माग्यौं। कमल, उपेन्द्र, राजेन्द्रहरूलाई भोट माग्यौं। यति त भन्ने नै भए। कसले भोट माग्न लगायो ? किन लगायो ? त्यसको परिणाम आइसकेपछि कुनै समिक्षा हुँदैन ? अनुहारमा लागेको दाग पखाल्न तिर लाग्यौ, मेटाउन तर्फ लागौं न।’
पार्टीको आगामी असार २२ गते बस्ने केन्द्रीय समितिको बैठकले संगठनको बारेमा महत्वपूर्ण निर्णय गर्ने जनाउँदै नेता थापाले भने, ‘केन्द्रदेखि स्थानीयत तहसम्मका संगठनलाई पूर्णता दिने र पार्टीको १४औँ महाधिवेशनको तयारीमा जुट्दा के घाटा हुन्छ ? भनेर सोध्ने हो भने कसैले पनि यो घाटा छ भनेर जवाफ दिन सक्दैन। तर, कांग्रेसलाई १४औँ महाधिवेशनमा नलिने हो भने, संघीयता अनुसारको संगठन निमार्ण नगर्ने हो भने पार्टीलाई कति घाटा हुन्छ ? यसका बारेमा म एक घण्टा भन्न सक्छु। तर, पार्टी नेतृत्व तयार नभएसम्म हामीले तालि बजाएर मात्रै हुने रहेनछ। पार्टीको विधि मान्नुपर्ने रहेछ।’
उनले अगाडि थपे, ‘पार्टीभित्र को हार्छ ? को जित्छ भन्ने कुरा मुल सवाल होइन। देशको जिम्मेवारी लिने, परिर्वतनलाई संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने कांग्रेस चाहिएको छ। त्यसैले यो मञ्चबाट सभापति ज्युलाई तत्काल महाधिवेशनमा जुट्न र मिति घोषणा गर्न आग्रह गर्दछु।’
देश संघीयतामा धेरै अघि बढिसकेको बताउदै नेता थापाले कांग्रेसलाई संघीय संरचनामा अघि बढाउन नेतृत्वलाई आग्रह गरेका छन्। नेता थापाले कांग्रेसको विधानमा नभएका कुरा नियमले परिर्वतन गर्न नपाइने भन्दै पार्टी नेतृत्वको चर्को आलोचन गरेका छन्।