चितवन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। सोमबार चितवनको माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए। अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो।
कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने दाहालको तर्क थियो।अहिलेको परिवर्तन गुणात्मक भएको अध्यक्ष दाहालको भनाइ थियो। उनले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अब जनताले विकासमा परिवर्तन चाहेको बताए।
पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भने,“पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन।” माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै उनले समस्या समाधान गर्दैअघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको बताए। दाहालले भने,“निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुश नभई जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको थियो, अव त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ।” उनले थपे “ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ।”
अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिए। सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाँको उद्यान निर्माणको तयारी थालेको उनले बताए।
अध्यक्ष दाहालले भने, “द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ।” आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गरे । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उनको भनाइ थियो।
नगर प्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले धारणा राखेका थिए।
माडी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि९२ करोड ७० लाख ४८ हजार रुपैँयाको बजेट पेश गरेको छ। जसमा चालुतर्फ १९ करोड ५० लाख रुपैयाँ र पूँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिए।