बुटवल - प्रदेश नं. ५ प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. ईश्वर गौतम नियुक्त भएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषदको आज सोमबार बसेको बैठकले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका पूर्वप्रमुख डा. ईश्वर गौतमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
मन्त्रिपरिषदको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले डा. प्रकाशकुमार श्रेष्ठले जेठ १४ गते दिएको राजीनामा स्वीकृत गर्दै उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्त गरिएको जानकारी दिए।
बुटवलनिवासी गौतम अर्थशास्थको विज्ञको रूपमा परिचत रहेका छन्। यसअघि सो पदमा रहेका डा. क्षेष्ठले आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका थिए। डा. श्रेष्ठलाई २०७४ साल चैत ६ गते बसेको मन्त्रिपरिषद बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो।