जनकपुर, २ माघ – पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रदेश नं. २ का मन्त्रीले सचिवमाथि गरेको कुटपिट गैरकानुनी कार्य भएको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानुनी कार्य भएको बताए।
नेता जाेशीले घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न मागसमेत गरेका छन्। उनले यस्ता गलत कार्यले लोकतन्त्र र सङ्घीयताको भविष्यमाथि नै प्रश्नचिह्न खडा गर्ने बताउँदै संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशङ्कर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भर्त्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गरेका छन्।