काठमाडौँ – पछिल्लो समय सरकारप्रति सत्तारुढ ढलकै नेता असन्तुष्ट भएका छन्। त्यसमध्येमा जनार्दन शर्मा एक हुन्। सोमबार बसेको संसदको राज्य व्यवस्था समितिमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताए।
उनले प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले मुठभेडमा मारिएको नदेखाएको बताए। उनले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ। तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन।’
गोली लागेर मारिएको व्यक्तिको हात ६/७ ठाउँमा भाँचिएको पाइएकाले प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वस्त हुन नसकिने बताए। सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्ने उनको जोड छ। उनले भने, विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक थिएन।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको जवाफ सोमबारको संसदको राज्य व्यवस्था समितिलाई दिएका थिए। गृहमन्त्री थापाका अनुसार गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेपछि प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा उनको मृत्यु भएको हो।