सुर्खेत – नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ। बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नआएपछि कांग्रेसले आइतबारको प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो।
आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको महत्वपूर्ण छलफलमा मुख्यमन्त्री शाही अनुपस्थित भएपछि बैठक अवरुद्ध गरिएको प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए। उनले बजेटमाथिको छलफलमा मुख्यमन्त्री नआउँदासम्म बैठक सुचारु हुन नदिने बताए। ‘बजेटजस्तो संवेदनशील विषयमा छलफल गर्दा मुख्यमन्त्री उपस्थित नहुनु गम्भिर विषय हो,’ उनले भने, ‘मुख्यमन्त्री छलफलमा नआउँदासम्म बैठक सुचारु हुन दिँदैनौँ।’
उनले निष्ठा, सत्यता र संसदीय मर्यादाका लागि संसद अवरोध गरेको तर्क गरे। उनका अनुसार असार १ गते प्रस्तुत भएको बजेटमाथि शुक्रबारदेखि छलफल गर्ने भनिए पनि विनाकारण बैठक स्थगित गरिएको छ। कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभामुख राजबहादुर शाहीले असार ११ गते ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए।