काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नयाँ ध्रुविकरणमा प्रवेश गरेको छ। आफ्नो राजनीतिक प्रतिवेदनलाई लिएर नेकपा पुनः ध्रुविकरणमा प्रवेश गरेको हो।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखनको पक्षमा देखिए। त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपालसहितका नेताहरूले ओलीको आकांक्षलाई सिधै अस्विकार गरे।
तत्कालिन एमाले-माओवादीबीच पार्टी एकता गर्दा राजनीतिक प्रतिवेदन तयार पारिएको थियो। जसलाई सम्पादन गरेर प्रकाशित गर्ने जिम्मावारी अध्यक्षलाई दिइएको थियो। तर, पार्टी एकताको एक वर्ष वितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक गरिएको छैन।
हालै बनेको प्रचण्ड-माधवकुमार नेपाल पक्षले राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न दबाव दिएको छ। शनिबारको बैठकमा अध्यक्ष ओलीले पुनर्लेखनको प्रस्ताव राखेको र प्रचण्ड-माधव नेपाललगायत नेताहरूले भाषिक सम्पादन गरेर प्रकाशित गर्नुपर्छ भनेर सुझाव दिएको एक नेताले बताए।
प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिवेदनको पुनर्लेखन गर्ने कुरा र रक्षामन्त्रीसमेत रहेका नेकपाका नेता ईश्वर पोखरेलले जबजलाई छलफलको विषय बनाइनु पर्ने धारणा राखेपछि नेकपा पुन: ध्रुविकरणको बाटोमा प्रवेश गरेको कुरा स्पष्ट छ। पार्टीमा देखिएको यो नयाँ ध्रुविकरणलाई हेरेर फेरि जनताको बहुदलीय जनवाद (जबज) को बहस चलाउन खोजेको हुनसक्ने नेताहरुको विश्लेषण छ।
प्रचण्ड–माधव नेपाल पक्षले भने जबज र २१औँ शताब्दीको जनवादलगायतका सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुंगो लगाउने पूर्व सहमतिबाट तलमाथि गर्न नहुने धारणा राखेका छन्।
शनिबारको बैठकपछि महासचिव विष्णु पौडलले सञ्चारकर्मीसँगको कुराकानीमा राजनीतिक प्रतिवेदनमा अन्तिम सम्पादनको क्रम चलिरहेको जानकारी दिएका थिए। उनले भने, ‘अध्यक्षद्धयले सम्पादनको प्रक्रिया कसरी अगाडि बढेको छ, कस्ताकस्ता विषयमा छलफल गरेर कुन ढंगले सम्पादन गरेका छौं भनेर जानकारी दिनुभयो। र, यो प्रतिवेदन सिध्र सम्पादन गर्ने र प्रकाशनमा लैजाने बैठकको निर्णय छ।’
नेकपाका नेता वामदेव गौतमका अनुसार बैठकमा जिल्ला इञ्चाज तथा सहइञ्चाज तोक्ने लगायतका विषयमा भने खासै छलफल भएन। उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन।’