काठमाडाैँ - निलम्बित सांसद रेशम चाैधरीलाई अस्पतालकाे शैयामा नेल (साङ्लाे) लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्। वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालकाे ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएकाे हाे।
अस्पतालकाे शैयामा उपचार गरिरहेका निलम्बित सांसदलाई साङ्लोले बाँधिएको तस्बिर शुक्रबार सार्वजनिक भएकाे थियाे। घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।
यसअघि निलम्बित सांसद चाैधरीलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भेट्न पुगेका थिए। भट्टराईले साङ्लाे फुकाल्न माग गरेका थिए। निलम्बित सांसद चाैधरीकाे खुट्टा १४ किलाेकाे साङ्लाेले बाँधिएकाे थियाे।