काठमाडौँ - गत वर्ष २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सुनायो। त्यसपूर्व सांसद चौधरीलाई राजनीतिक मुद्दाका आधारमा उन्मुक्ति दिन राजपा र सम्वद्ध पक्षले माग गर्दै आएका थिए।
राजपाका निलम्बित सांसद रेशम चौधरीलाई हाल अस्वस्थ छन्। अस्पतालमा चौधरीलाई परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका प्रहरीले कुरिरहेका छन्। डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ। फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको चौधरीको पारिवारिक स्रोतले जानकारी दिएको छ।
चौधरीको खुट्टामा प्रहरीले १४ केजीको फलामले नेल लगाइएको छ। पारिवारिक स्रोत भन्छ, ‘अस्पतालमा उपचाररत हुँदा पनि प्रहरीले दमन गर्न छाडेको छैन। कारागारभित्र रहँदा नेल र हत्कडी नलगाए पनि अस्पतालमा लगाइएको छ।’
दुई सातादेखि बिरामी परेका चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो। फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ। ढाडको बोनम्यारोमा समस्याका कारण उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ।
१४ किलोको नेलकाे चौतर्फी आलोचना
चौधरीको खुट्टामा देखिने नेल अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसै सन्दर्भका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हत्कडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो? आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिट्टै बिर्सेका हुन्? यो हर्कत तुरून्त बन्द गर!’

त्यस्तै पत्रकार अनिल योगी फेसबुकमा लेख्छन्, ‘म सचेत मानव प्राणी हुँ। मानवता विरुद्धको अपराधका पक्षमा म कहिले पनि हुँन्न। सत्य र न्यायका पक्षमा बोल्दा म कुन कित्तामा पर्छु जान्दिनँ।
नेपालमा शान्तिका कुरा गर्नेहरू, विकास भएन, भ्रष्टाचार भयो, समाजमा अन्याय, अत्याचार भयो भन्नेहरूको आज निकै ठूलो जमात छ। जुन समयमा नेपालमा भएको अमानवीय युद्ध रोक्नुपर्छ, समाजमा अन्याय अत्याचार बढ्यो, मानिसले मानिसले बाँच्न पाएनन् भन्दै म एक्लै रुदैँ थिएँ, त्यो समयमा म हास्य पात्र जस्तै थिएँ।
पत्रकारिता क्षेत्रका एक कुशल सहकर्मी हुन् रेशम चौधरी। टिकापुर घटनाको एक दोषीका रूपमा राज्यले उनलाई जेलमा राखेको छ। उनले गरेका आपराधिक क्रियाकलापप्रति म सहमत छैन। तर, एउटा कुरा म भन्न बाध्य छु। नेपालको राज्यसत्तामा बसेकाहरूले भन्दा ठूलो अपराध रेशम चौधरीले मात्र गरेका हुन्?
रेशम चौधरीका खुट्टामा बाँधिएको फलामे साङ्लो रेशम चौधरीकै लागि मात्र निर्माण गरिएको हो? अपराध अनुसारको दण्ड जरिवाना सबैलाई हुनुपर्छ। तर, त्यही प्रकृतिका, अझ त्योभन्दा जघन्य प्रकृतिका अपराध गर्नेहरूले राज्यबाट उन्मुक्ति पाउने र कसैले दण्ड पाउने कानुनी व्याख्याले हाम्रो सामाजिक न्याय र राष्ट्रिय सुरक्षालाई आघात पुर्याउने काम गर्न सक्छ।’
संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको थियाे। टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए। सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहण गराएको थियो। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन्।