काठमाडौँ — आगामी असार २२ गते नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार २२ गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हाे।
बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ।
संशोधित विधानको नियमावली बनेर कार्यान्वयनका लागि बाटो खुल्ने भएकाले पनि कांग्रेसमा छिटो नियमावली पास गर्न दबाब परेको छ। नियमावली समितिको प्रस्तावित मस्यौदाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी मुख्य सचिव पौडेलले दिए।
संघीय व्यवस्थाअनुसारको पार्टी संरचना छिटो बनाउँदै १४औँ महाधिवेशन गर्ने बाटोमा अग्रसर हुन कांग्रेस नेतृत्वलाई पार्टी्भित्र दबाब छ।
नियमावलीबाहेक गत २५ वैशाखदेखि २५ जेठसम्म देशभर भएको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयका सन्दर्भमा पनि छलफल हुने पौडेलले जानकारी दिए।
तर, पार्टी संस्थापन पक्ष यो वर्षको फागुन मसान्तभित्र महाधिवेशन गर्न तयार छैन। एक वर्ष थप गर्न पाउने वैधानिक व्यवस्थालाई टेकेर पार्टी सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउने तयारी गरेका छन्।