विराटनगर - सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी माफी मागेका छन। महिलालाई तथानाम गाली गरेको भन्दै चौतर्फी आलोचना भएपछि मेयर चौधरीले विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।
प्रमुख चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला दिदीबहिनीप्रति मेरो कुनै गलत आशय होइन। मैले इटहरी उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ मा नागरिक समाजले आयोजना गरेको कार्यक्रममा बोलेका केही शब्दहरूले महिला दिदी बहिनीहरूलाई चोट पुर्याएकोमा क्षमा चाहन्छु।’
विभिन्न गतिविधिका कारण पटकपटक विवादमा पर्दै आएका उप–महानगरपालिका प्रमुख चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न संघ संगठनहरूले आपत्ति जनाएका थिए। महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले पनि आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रमुख चौधरीले प्रयोग गरेको शब्द महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गर्ने खालको, कानूनी रूपमा समेत बर्जित शब्द भएको बताउँदै त्यस्ता शब्द प्रयोग गर्नेहरूलाई अविलम्ब कानूनी कारबाही गर्न माग पनि गरिएको थियो।