काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेताको हत्या विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रहरीले पार्टीको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको भन्दै त्यसका विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख गरिएका छन्।
चैत ७ गते प्रचार–प्रसार, चैत ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ। विज्ञप्तिमा असार ५ गते भएको पौडेल हत्याकाण्डको छानविन गर्न समेत माग गरिएको छ।