काठमाडौँ – खानेपानीमन्त्री विना मगरले लामो समयदेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य शुरू भएको जानकारी दिएकी छन्। आज संसदमा उठेका प्रश्नको उत्तर दिँदै मन्त्री मगरले आगामी आर्थिक वर्षभित्र मेलम्चीको खानेपानीलाई काठमाडौँमा वितरण गरिने बताइन्।
‘मेलम्ची खानेपानी आयोजना प्रथम चरणको निर्माणको काम शुरू भएको छ। आगामी आर्थिक वर्ष मेलम्ची खानेपानीको प्रथम चरणको काम सम्पन्न गरिने छ। उपलब्ध पानीको समानुपाति वितरण गरिनेछ।’ उनका अनुसार मेलम्ची खानेपानी आयोजना प्रथम चरणको दुई मुख्य प्याकेज र आठ सहायक प्याकेज रहने गरि ठेक्का लगाएर काम शुरू गरिएको हो।
उनले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा समानुपाति वितरणका लागि आवश्यक पर्ने थोक वितरण प्रणाली, सञ्जाल पोखरीलगायतको पनि निर्माण कार्य शुरू गरिने जानकारी दिइन्।
मेलम्ची खानेपानी आयोजनाका लागि आगामी आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ९५ लाख बजेट विनियोजन गरिएको भन्दै उनले भने, ‘मेलम्ची खानेपानी आयोजना दोस्रो चरणबाट पनि थप ३४ करोड पानी काठमाडौँ उपत्यकामा पुर्याउने लक्ष्य मन्त्रालयले लिएको छ।’
उनले भुकम्पनबाट क्षति भएका सम्पूर्ण खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने दावी गरेकी छन्।