काठमाडौँ - सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरीको इन्काउण्टरमा मारिएका नेकपा विप्लव माओवादी नेता कुमार पौडेलको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
शुक्रबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद मण्डलले भने,‘विप्लवका कार्यकर्ता दोहोरो भिडन्तमा मारिए भन्ने समाचार आएको छ। निहत्था नागरिकलाई यसरी मार्नुले राज्यमाथि ठूलो प्रश्न खडा गरेको छ। यसको बारेमा गृहमन्त्रीले सत्य तथ्य संसदमा पेश गर्नुपर्छ।’
उनले अगाडी भने, ‘नेपाल कम्युनिष्ट पार्टी (विप्लव) राजनीतिक समुह भएका कारण राजनीतिक रुपमै समाधान खोजिनुपर्छ। विभिन्न प्रकारका प्रयासबाट उक्त समूहलाई वार्तामा ल्याउन सकिन्छ। तर, यसरी सरकारले प्रहरी इन्काउण्टरमा निहत्था मानिसलाई मार्ने कुराले न त सरकारलाई फाइदा हुन्छ। न त दोस्रो पक्षलाई । त्यसैले गृहमन्त्रीले आम संसदलाई उक्त घटनाको बारेमा जानकारी दिुनपर्छ।’