काठमाडौँ– समाजबादी पार्टी नेपालका सांसद एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेट हिजोको निरन्तरताको हिसाबले ठिकै भएपनि अहिलेको नेपालको अवस्थामा बजेट सन्तुलन नभएको बताएका छन्।
शुक्रबार संघीय संसदमा विशेष समयको माग गरेर संसदमा आफ्नो धारणा राख्दै उनले हिजाेकै निरन्तरता र पार्टी तथा व्यक्तिकाे प्रभावका कारण अर्थमन्त्रीले डराएर बजेट ल्याएजस्तो देखिएको टिप्पणी पनि गरे।
उनले भने, म उहाँलाई दोष दिन्न। उहाँ नै कता कता डराए जस्तो लक्पकाए जस्तो, एउटा दोसाधमा उभिए जस्तो। यता जाउँ कि उता जाउँ । यता फर्के उतापट्टि तान्ने उता फर्के यतापट्टिबाट तान्ने डरले गर्दा विचमा बसेर उभिन खोजेको जस्तो मैले देखे।
त्यसो गर्नु आवश्यक थिएन, यहाँ एउटा व्यक्ति, एउटा पार्टीको कुरा होईन सिंगो देशको कुरा हो। युगको कुरा हो। जनताले अपेक्षा गरेको कुरालाई पुरा गराउने बेला हो। हामीले क्रम भंगता दिने ढंगले बजेट सिफ्ट गर्न सक्नु पथ्र्यो त्यो हुन नसक्नु दुःखको कुरा हाे।
विगतका तुलाना जस्तै बजेट निर्माण भन्सार करको निरन्तरताका कारण नेपालमा विकास हुन नसक्ने उनको तर्क थियो।
आयत करले देशलाई अर्थतन्त्र संचालन गर्न सजिलो भएपनि समग्रमा देशको विकास र उन्नती नहुने भन्दै आयत करको भर पर्नुभन्दा पनि उत्पादनमुखी बजेटको निर्माण गरी आत्मानिर्भर हुनुपर्ने बताए। अहिलेसम्म पंचायतकालदेखिको आय श्रोत, उत्पादन क्षेत्रमा खासै परिवर्तन नभएको भन्दै यसलाई तोड्नुपर्ने सांसद भट्टराईको तर्क थियो।
यस्तै सांसद भट्टराईले संसदमा दर्ता भएको विधेयकमा केही मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्नुपर्नेमा माग पनि गरे। यी विधेयक अहिलेको अवस्थामा अनावश्यक रहेको भन्दै उनले विधेयक खारेजीको माग गरेको हो।
उनले विधेयक खारेज गर्न सरकारलाई डर पनि देखाए। उनले माइतीघरमा भएको प्रदर्शनको स्मरण गराउदैँ विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह समेत गरे। माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह पनि गरे।
उनले भने, ‘हामी खस आर्य समुदायले, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ। अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले। यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला।’