काठमाडौँ - नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ। दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो।
सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन्।
स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्यदिशासम्ममा फरक मत देखिएको छ। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्थानमा अर्को नेतालाई जिम्मेवारी नदिएकोमा पनि दाहालले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन्। याे समाचार नागरिक दैनिकले छापेकाे छ।