वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले गाउँपालिकाको काम कारबाहीबाट आफू असन्तुष्ट रहेको बताएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले त्यस्तो असन्तुष्टि पोखेका हुन् ।
‘गाउँपालिकाले कस्तो बजेट बनाउने, कसरी काम गर्ने र को–कोसँग समन्वय गर्ने भन्नेबारेमा जनप्रतिनिधि गम्भीर र उत्तरदायी बन्नुपर्छ,’ उनले भने, ‘जबसम्म जनप्रनिधि उत्तरदायी बन्दैनन्, तबसम्म गाउँटोलको विकास हुँदैन ।’ उनले केही तत्व र कमी कमजोरीका कारण गाउँपालिका खाल्डोमा गइरहेको पनि चर्चा गरे । भोलि काम भएन भने म मात्र फेल हुँदिनँ, २७ जनाको निर्वाचित जनप्रतिनिधिको टिम नै फेल हुने उनले बताए ।
‘असारमा आउने बजेटको लागि कस्ता योजना ल्याउनुपर्छ, जसले परिणाम देओस् र स्थानीय गौरवलाई झल्काओस्, यसैमा गम्भीर भएर योजना ल्याउनु होला, भाँडभैलो मच्चाउने योजना वा स्वार्थमूलक योजना छान्नु पर्दैन,’ उनले वडा अध्यक्ष तथा वडा सदस्यलाई आग्रह गर्दै भने । शिक्षा, स्वास्थ्य, कृषि, विकासको काम, सामाजिक सुरक्षा, नागरिक समाजलगायत क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनी योजनाबारे वडा स्तरमा योजना तर्जुमा गरी गाउँसभामा पेश गर्न आग्रह गरे ।
बहु सरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको आयोजनामा भएको तेस्रो बैठकमा गापा उपाध्यक्ष सावित्री देवी, वडाध्यक्षहरू मिश्री महतो, ईश्वरी साह तेली, अनिल राम, गजेन्द्र पटेल, रामेश्वर साह कलवारलगायतको सहभागिता थियो । कार्यक्रम स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता (प्याक्ट/साहस) काठमाडौंको आयोजनामा भएको हो ।