धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सांसदहरूले रातो किताब जलाएका छन्। प्रदेश सभाको गेटमै सासंदहरूले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै रातो किताब जलाएका हुन्।
सासंदलाई समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याएको भन्दै रातो किताब जलाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। जनतामैत्री बजेट नबनेको र आसेपासे पोस्ने खालको मात्र बजेट आएको भन्दै उनले आपत्ति जनाएका छन्। सरकारले बजेटलाई संशोधन नगरे संसद चल्न नदिने चेतावनी समेत उनले दिए।
प्रदेश सरकारले अनुचित ढंगले बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलले रातो किताब जलाएको हो। अपारदर्शी र भ्रष्टाचारलाई प्रोत्साहन दिने गरी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बिहीबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका थिए। प्रदेश सभा बैठक शुरू भएलगत्तै कांग्रेस र राजपाका सांसदहरू आफ्नो ठाउँमा उठेर विरोध जनाए।
सभामुख अर्जुनबहादुर थापाले पटकपटक बस्न आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू उठिरहे। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै विरोध गरेको बताए।
सरकारले लुटतन्त्र मच्चाउने उद्देश्यले बजेट ल्याएका कारण बजेट स्वीकार गर्न नसकिने राष्ट्रिय जनता पार्टीका सांसदहरूले बताए। उनीहरूले गतवर्षभन्दा पनि यो वर्ष बजेट अपारदर्शी आएका कारण बजेट स्वीकार्न नसकिने बताएका छन्।
प्रदेश सरकारले भने बजेट संशोधन नहुने बताएको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बजेट उत्कृष्ट रहेको बताउँदै संशोधन नहुने स्पष्ट पारेका छन्। उनले बजेटले सबै वर्ग र क्षेत्रलाई समेटेका कारण कसैले भन्दैमा संशोधन नहुने बताए।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। आज बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बजेटको विषयमा धारणा राख्ने कार्यसूची रहेको थियो। प्रतिपक्षीको विरोधपछि अर्थमन्त्रीले संसदमा बोल्न पाएनन्। विपक्षी दलको विरोध जारी रहेपछि सभामुख थापाले बैठक असार ८ गते बिहान ८ बजेसम्मलाई स्थगित गरेको घोषणा गरे।