काठमाडौँ - विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बनेको आरोप लगाउँदै मिडिया विधेयक फिर्ता गर्न माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै सांसद गच्छदारले अभिव्यक्ति स्वतन्त्रताको लागि र परिवर्तनका लागि नेपाली सञ्चार जगतले ठूलो भूमिका खेलेको भन्दै मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गरेका हुन्।
आफू २०४८ सालमा तीन वर्ष निरन्तर सञ्चारमन्त्री भएर काम गरेको स्मरण गराउँदै उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि जेल बसेका र जीवन बलिदान गरेका पत्रकार जगतमाथि नियन्त्रण गर्न खोजेको हो? यसमा कांग्रेस लड्न तयार छ। यो हामीलाई स्वीकार्य छैन। मेरो कार्यकालमा जम्मा एउटा रेडियो थियो । एउटा टीभी थियो। आज रेडियोको संख्या पाँच सय छ। टीभीको संख्या एक दर्जन पुगेको छ। हचुवाको भरमा विधेयक ल्याएर तर्साउन खोज्ने?’
उनले प्रधामन्त्री पद आफैँमा सर्वशक्तिमान हुने कुरा प्रधानमन्त्री ओलीले बिर्सेर अरु थप शक्तिको खोजीमा भौतारिरहेको टिप्पणी गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री दुई तिहाईको जनमत, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पति शुद्दीकरण विभाग आफ्नो नियन्त्रणमा राख्नुको कारण के हो? सबै अधिकार आफूले लिएर अधिनायकवाद लाद्न खोज्दै हुनुहुन्छ। त्यस कारण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको लागि छुट्याइएको खर्चमा एक सय घटाइयोस् भनेर प्रस्ताव गर्छु, उनले व्यंग्यात्मक शैलीमा भने।
प्रतिपक्षी दलका आवाजहरू सुनेर प्रधानमन्त्रीले जवाफ दिनबाट भागेको आरोप लगाउदै सांसद गच्छदारले संस्कार, संस्कृति र परम्परामाथि सरकारले हमला गरेको बताए। सरकार बनेको १६ महिनासम्म पनि काम गर्ने र संविधानअनुसार अघि बढ्ने काममा असफल भएको बताए।
उनले भने, ‘म धेरै उदाहरण दिन चाहन्न। गुठी विधेयक फिर्ता भयो। जनसागर उर्लियो। विधेयक ल्याउनुअघि छलफल गर्नुपर्ने थियो कि थिएन? दुई पटक प्रधानमन्त्री भएको व्यक्तिले हचुवाको भरमा विधेयक ल्याउने? संविधानविपरित विधेयक ल्याउने? फिर्ता गर्ने कुरालाई बहादुरी नमाने हुन्छ। गल्ति विधेयक ल्याएर गल्ति गरेकोमा प्रधानमन्त्रीले नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ।’