पोखरा – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा परापूर्वकालदेखि कायम रहेको गुठीलाई एउटै प्रक्रियाभन्दा पनि वर्गीकरणका आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। बिहीबार प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गुठीको प्रकृति नै फरक–फरक रहेकाले सबै गुठीलाई एउटै प्रक्रियाबाट हेर्न नहुने बताए।
‘गुठीहरुको प्रकृति अनुसार नै फरकफरक प्रक्रिया र विधि अपनाएर अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘विभिन्न प्रकृतिका गुठीहरुका लागि एउटै किसिमको मापदण्डका आधारमा व्यवस्थापन गर्न खोजियो भने समस्या सुल्झने हैन, बल्झिन्छ।’
अध्यक्ष दाहालले पार्टीको कार्यगत एकताको लागि यसअघि भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई नभएको बताए। उनले पार्टी एकता अब छिट्टै टुंगिने बताए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच यस विषयमा कुराकानी भइरहेको उनको भनाइ थियो। ‘दुई अलग–अलग विचार र आदर्श बोकेका पार्टी बीचको ऐतिहासिक एकता अब छिट्टै निष्कर्षमा पुग्छ,’ उनले भने, ‘विश्व राजनीतिमा चकित पार्ने गरी भएको पार्टी एकतालाई टुंग्याउने प्रक्रियामा हामी अघि बढिसकेका छौँ।’
सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा छलफल चलेको बताए। ‘बजेटपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिर रुपले छलफल भएको छ,’ उनले भने, ‘तर यसको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीलाई नै छ।’
पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएर लैजाने विषयमा आफू गम्भिर रहेको उनको भनाइ थियो। सरकारको नेतृत्व परिवर्तनको विषयमा उनले भने, ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको सहमति पहिले नै सार्वजनिक भइसकेको छ। अहिले त्यस विषयलाई चर्चा र विवादमा ल्याउन केही तत्व लागि परेका मात्र हुन्।’ उनले ओली नेतृत्वको सरकार नै पाँच वर्ष चल्न सक्ने अभिव्यक्तिलाई बंग्याइएको बताए।
‘अहिले हामी पार्टी एकताको गृहकार्यमै छौँ। पार्टीलाई मिलाउने प्रक्रिया महान हो,’ उनले भने, ‘पार्टी एकतालाई सफल पार्ने र मुलुकलाई सफल रुपमा अगाडि बढाउने बिषयमा केन्द्रित छौँ।’ अध्यक्ष दाहालले विप्लव माओवादी वार्तामा आउनुको विकल्प नरहेको पनि बताए।