काठमाडौँ, २ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचि अनुसारको शिक्षा दिनुपर्ने बताएका छन्। रुचि अनुसारको पठनपाठनको वातावरण पाए सबै बालबालिका सफल हुने ओलीको धारणा छ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग–२०७५ को प्रतिवेदन बालुवाटारमा ग्रहण गर्दै ओलीले ‘रुचि अनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुने बताएका हुन्।
ओलीले भने, ‘फुटबलमा रुचि हुनेलाई सङ्गीत सिकाएका छौँ। आफ्नो होइन, बाबुआमा र विद्यालयको रुचि लादेका छौँ। अनि बच्चालाई असफल घोषित गरेका छौँ। यो प्रणाली राम्रो होइन।’
अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरूको आत्मविश्वासमा बञ्चरो हानिरहेको ओलीले बताएका छन्।
उनले भविष्यका कर्णाधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरूको मनोविज्ञान बिगार्नु गलत रहेको बताए।
‘परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहँदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ,’ ओलीले भने, ‘बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोबल उठ्न सक्दैन। यसले समग्रतामा देशको भविष्यमाथि प्रहार गर्छ।’
बालबालिकाको मनोविज्ञानमा असर नपरोस् भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्री ओलीले बताए। ‘यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन। हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौँ,’ उनले भने।
ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरूको देश बनाउनुपर्ने बताए। ४२–४३ प्रतिशत मात्रै सफल हुने देश होइन, अब उन्नत विद्यार्थी भएको देशका रूपमा नेपाललाई चिनाउनुपर्ने ओलीको भनाइ छ। ‘नेपाललाई डिस्टिङसनहरूको देश बनाउनु पर्दछ,’ उनले भने, ‘देशको परिचय अब बदल्नुपर्दछ।’