काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा अगाडि बढिरहेको बताएका छन्। सरकारले प्रतिपक्षमाथि बलमिच्याइँ गरिरहेको उनको आरोप छ।
बुधबार संसदको शुन्य समयमा देउवाले मिडिया विधेयक प्रजातन्त्रमाथिको आक्रमण भएको बताए। उनले भने, ‘मिडिया विधेयक प्रजातन्त्रमाथिको पहिलो आक्रमण हो। जुन देशमा फ्रि प्रेस हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन। यो प्रजातन्त्रविरोधि छ। यसलाई रोक्न आवश्यक छ।
कुनै पनि हालतमा मिडिया विधेयक पास गर्न नदिने र सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। हरेक व्यक्तिलाई सूचना पाउने हक भएकाले सूचनाको हकबाट बञ्चित गराउन नहुने देउवाको भनाइ थियो। यस्तै उनले संसारमा मानवअधिकार आयोग स्वतन्त्र हुने भएकाले मानव अधिकार आयोगलाई नियन्त्रणमा राखेर प्रजातन्त्रमाथि अर्को आक्रमण भएको बताए। उनले मानवअधिकारविनाको प्रजातन्त्र मान्य नहुने भन्दै मानवअधिकार आयोग विधेयकलाई फिर्ता गर्नुपर्ने बताए। उनले प्रजातन्त्रमा मानवअधिकार स्वतन्त्र हुने भएकाले यसलाई अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाए।
यस्तै उनले राष्ट्रिय सुरक्षा परिषद विधेयकमा सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने व्यवस्था गर्न लागेको भन्दै यसलाई रोक्न माग गरे। उनले राष्ट्रपतिको अधिकार प्रधानमन्त्रीको मातहतमा ल्याउनु गृह मन्त्रालय, रक्षा मन्त्रालय, मुख्य सचिव र सेनामाथिको अविश्वास भएको भन्दै राष्ट्रिय सुरक्षा परिषद विधेयक पास गर्न नदिने चेतावनी दिए। उनले भने, ‘हिजोभन्दा हामी निकै सशक्त भएर आउँछौँ। पुरानो मान्यतालाई हटाएर यहाँ प्रतिपक्षलाई जहिले पनि हेप्ने काम भइरहेको छ।