काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडक र संसदनमा आक्रमक देखिन थालेको छ। सरकारले संसदमा पेश गरेकाे मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार विधेयकलगायतका विधेयकमाथि कांग्रेसले आक्रमक धारणा राख्दै आएको छ।
मंगरबारको संसद वैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पहिले बोल्ने कि ? प्रधानमन्त्री केपी शर्मा ओली पहिले बोल्ने भन्ने विषयलाई लिएर संसद अवरुद्ध बन्याे।
यता समाजिक सञ्जालमा भने मंगलबारको संसद बैठकलाई लिएर पक्ष र विपक्षमा धारणा सार्वजनिक हुन थालेका छन्। कम्युनिष्ट सत्ताले रुनसम्म दिदैन भन्ने कांग्रेसले संसदमा प्रधानमन्त्रीलाई बोल्नसमेत दिएन भनेर व्यङ्ग्य गरेको पाइन्छ। सत्तापक्षले कांग्रेसले असंसदीय व्यवहार देखाएको आरोप छ, भने कांग्रेसले सत्तापक्षलाई संसदीय मर्यादा पालना गर्नबाटपछि हटेको आरोप लगाइरहेको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा ट्वीटरमा लेख्छन्, ‘पुर्व शिक्षक सभामुखलाई प्रश्न ‘प्रश्न अघि हुन्छ कि जवाफ ? समुन्नत लोकतन्त्रमा प्रश्न, जिज्ञासा र जनआवाज पहिले सुनिन्छ। स्वदेश फर्केपछि औपचारिक रूपले संसदमा प्रतिपक्ष मार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो! ‘ब्रम्ह ज्ञानि’ होइन।
कांग्रेसका कारण मंगलबारको संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए।
उनले भनेका थिए, ‘संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार। त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो। दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी गराउने र विभिन्न निर्णयहरु बारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने त्यो अभ्यास हुन्छ र प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समय भन्दा पहिले आफूले बोल्नु पर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कही पनि हुँदैन।
आश्चर्यलाग्दो गरी आज अगाडिदेखि तय भएको प्रधानमन्त्रीले सम्बोधन गर्ने ११ बजे देखि भन्ने पहिले आफूले बोल्न पाउनु पर्छ भनेर नेपाली कांग्रेसले अड्डी लियो। अड्डी मात्रै लिएन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसदको कामकारबाहीलाई अवरोध र्गयो। विषय केही पनि थिएन। कुनै विषयमा मतभेद पनि होइन। तर, लोकतान्त्रिक अभ्यासमा बोल्न पर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले, त्यसपछि मर्यादा क्रमका व्यक्तिले बोल्ने कुरा विश्वव्यापी प्रचलन हो। त्यो जहाँ पनि हुन्छ।
तर हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्देश्य अन्तर्गत नेपाली कांग्रेसका सभापति, लामो समयदेखिका मेरा मित्र, लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समय साथ दिएका मित्र शेरबहादुर देउवा आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनु पर्छ भनेर वेल घेर्ने कामको नेतृत्व गरेर अगाडि जानु भयो। आश्चार्य चकित भएँ म। उहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने। जे होस् संसद अवरुद्ध भयो।
यसको अर्थ यो होइन कि संसदमा बोल्न खोजेको कुरा चाहेको कुरा मैले संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन। संसदमा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए र त्यसतर्फ ध्यानकर्षण गर्न खोजेको हुँ।संसदमा बोल्नु पर्ने कुरा समयक्रममा फेरि बोलिने नै छ।
म स्मरण गर्छु, हामीले धेरै लामो बलिदानपूर्ण संघर्षबाट आजको अवस्था ल्याएका हौं। तर, आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघीयताको विरुद्ध अथवा जनताको शासनका विरुद्ध, जनताको सार्वभौमसत्ताका विरुद्ध, लोकतान्त्रिक प्रणाली र अभ्यासकाविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै देखा परेको छ।’