काठमाडौँ – राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन्।
राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिए। उनले भने, ‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौँ।’
राष्ट्रिय स्वयंसेवक नेपालले ३२ जेठमा भद्रकालीमा पाँच सय लिटर रगत सडकमा बगाएपछि सर्वत्र चर्चा भएको थियो। उक्त घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकार पक्राउ गरेर हिरासतमा राखेको थियो।
घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोध गरेको बताए। उनले भने, ‘अब योभन्दा कडा संघर्षमा जान्छौँ।’ भद्रकालीबाट नेपाल स्वयंमसेवकका १० जना अभियान्तालाइ प्रहरी पक्राउ गरेको भन्दै केन्द्रीय अभियन्ता विमल खत्रीले आपत्ति जनाए।