काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्नेतर्फ गम्भीर भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।
सोमबार संघीय संसदको प्रतिनिधिसभाकोे बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराए।
संसदीय समितिले दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै सांसद कर्णले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे। समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा सांसद कर्णले सुझाए।
राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा सांसद कर्णले आक्राेश प्रकट गरे। संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे।
उनले भने ’समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो। मन्त्री आकाशबाट आएको होइन। मन्त्रीले बुझ्नुपर्छ। लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ। प्रवक्ताले भन्छ म मान्दिनँ। अब कसको कुरा मान्ने ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ। यही समानुपातिक समावेशीका लागि हामीले लडाई गरेका हौं।’