काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकार अन्धो र बहिरो भएको बताएका छन्। सोमबार संसदको शुन्य समयमा बोल्दै सांसद बडुले सडकमा आन्दोलनको आकार बढेको र आन्दोलनमा चर्को नारा लगाउँदासमेत सरकारले अन्धो र बहिरोले झैँ नदेखेको र नसुनेको आरोप लगाए।
सांसद बडुले प्रधानमन्त्रीले हेर्छु, विचार गर्छु भन्ने तर सरकारका प्रवक्ताले गुठी विधेयक सामन्तवादको अवशेष भन्नु सरकारले दोहोरो चरित्रको भूमिका खेलेको आरोप लगाए । उनले भने, ‘सरकारले तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु, भन्ने चरित्र प्रस्तुत गर्न खोजेको छ।
सांसद बडुले अहिलेको सरकारले नेपाली समाजको, धार्मिक सांस्कृतिक पहिचान मास्ने खालको क्रियाकलाप दिनप्रतिदिन गरिरहेको र जनताले विरोध गर्दासमेत नसुनेको भन्दै जनताको आन्दोलनको समर्थन नेपाली कांग्रेसले गर्ने पनि बताए। सांसद बडुले सरकार यस विषयमा गम्भिर हुन नसकेको वा सरकारले दमन गर्न खोजे त्यसबाट उत्पन्न हुने गम्भिर परिस्थितिको समाना सरकारले नै गर्नुपर्ने र सरकार नै जिम्मेवार हुनुपर्ने चेतावनी पनि दिए।
संविधानको भाग ३ मौलिक हकको २६ (२)ले प्रत्येक धार्मिक सम्प्रदायले धार्मिक मठमन्दिर तथा गुठी सञ्चालन गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित गर्न खोजेको र होली वाईनले प्रतिस्थापन गरी मौलिक पहिचानलाई निमोठ्ने काम गर्न खोजेको आरोपसमेत लगाए। उनले सरकारले नेपालको संस्कार र संस्कृति मास्न ल्याएको गुठी विधेयक फिर्ता गर्नुपर्ने माग गरे।