एजेन्सी, १ माघ – भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको छ। अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८९ रन जोडेको छ।
अस्ट्रेलियाका लागि सन मार्सले १ सय ३१ तथा ग्लेन म्याक्सवेलले ४८ रन बनाएका थिए। तीन खेलको यस शृङ्खलामा अस्ट्रेलिया एक खेल जितेकाे छ। विराट कोहलीको कप्तानीमा रहेको भारतलाई पहिलो खेलमा अस्ट्रेलियाले ३४ रनले पराजित गरेको थियो।
अस्ट्रेलियाली टिमका कप्तान आरोन फिन्चले एडिलेडको पिच ब्याटिङका लागि उपयुक्त रहेको देखिएकाले पहिले ब्याटिङ रोजेको बताए। भारतीय कप्तान कोहलीले पनि टस जितेको भए पहिले ब्याटिङ रोज्ने बताए। उनले भने, “यहाँको पिच ब्याटिङका लागि ज्यादै राम्रो छ। तर, आज निकै गर्मी भएकाले खेल्न कठिन हुनेछ।”
अस्ट्रेलियाली टिममा परिवर्तन गरिएको छैन, तर भारतीय टिममा एक खेलाडी परिवर्तन गरिएको छ। तीब्र गतिका बलर खलिल अहमदको सट्टामा मोहम्मद सिराजलाई टिममा समावेश गरिएको छ।