काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले सार्वजनिक सम्पत्ति हडप्नेलाई संसदबाट कुनै पनि सहानुभूति वाञ्छनीय नहुने बताएका छन्। आइतबार संघीय संसदको बैठकमा बोल्दै सांसद अधिकारीले सार्वजनिक जग्गा कब्जा गर्नेहरूउपर कारवाही हुनुपर्ने बताए।
हिजोका राजामहाराजाले गरेजस्तो एउटै व्यक्तिको नाममा धेरै जग्गा हडपेर अरुलाई सुकुम्बासी बनाउनेहरुको सम्पत्ति सरकारको नाममा ल्याउन खोज्दा विरोध गर्नुको कुनै तुक नभएको सांसद अधिकारीले धारणा राखे। उनले हिजो फेवातालको २० हजार रोपनी जग्गा रहेकोमा अहिले ८ हजार हुनु र १२ हजार व्यक्तिको नाममा तालको पानी पनि नामसारी गर्नुजस्ता गतिविधि रोक्न भूमि सुधार मन्त्रालय लागेको बताउँदै सार्वजनिक सम्पत्ति हडपेर बस्नेहरुले नै विरोध गरिरहेकाले उनीहरुलाई संसदबाट कुनै पनि सहानुभूति नहुने बताए। उनले यो संसदमा छलफल र विवादभन्दा पनि विधेयकलाई पास गरेर अघि बढ्नुपर्ने माग पनि राखे।
हिजोको श्री ५ को जस्तै एउटा व्यक्तिको स्वार्थ अहिलेको गणतन्त्रमा अमान्य हुने उनको भनाइ थियो।गणतन्त्रमा व्यक्तिभन्दा समाजको स्वार्थ प्रधान हुनुपर्ने भएकाले सार्वजनिक सम्पत्ति सरकारको मातहतमा ल्याउने काममा सबैले सहयोग गर्नुपर्ने उनले बताए।
गुठी विधेयकको पहिलो नम्बरमै संविधान अनुसार, जाति, धर्म, संस्कार र संस्कृतिको आधारमा कानून बनाउने बुँदा उल्लेख भएको भन्दै कोही पनि डराउनुपर्ने अवस्था नरहेको बताए। सबै जाति, धर्म र संस्कारको भावना र मर्मलाई सरकारले ध्यानमा राख्ने भन्दै यसको गलत व्याख्या र जनतामाथि भ्रम सिर्जना नगर्न पनि उनले आग्रह गरे।